सदन अवरोध हटाउन कार्यदल गठन

काठमाडौ, १३ असार। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गर्दै आएको सदन अवरोध हटाउन चार दलीय कार्यदल गठन भएको छ।

सोमबार बसेको सत्तारुढ र विपक्षी दलका शीर्ष नेताको बैठकले काँग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपा नेपालका तर्फबाट सदस्य रहने गरी कार्यदल गठन गरेको हो।

कार्यदलमा काँग्रेसको तर्फबाट चीनकाजी श्रेष्ठ, कृष्ण सिटौला र प्रकाशशरण महत, एमालेबाट उपप्रधान तथा रक्षामन्त्री भीम रावल र सुवास नेम्वाङ, माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र राप्रपा नेपालबाट दीलनाथ गिरी सदस्य छन्।

कार्यदलको पहिलो बैठकमा काँग्रेसले भूकम्पपीडितलाई एकमुष्ट अनुदान रकम दिन गरेको माग र माग पूरा गर्नका लागि अपनाउन सकिने विकल्पबारे छलफल भएको काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले बताए।

उनका अनुसार मंगलबार कार्यदलको बैठक बसेर सहमतिको खाका तयार गर्नेछ। कार्यदलको सहमतिको खाकाको बारेमा बिहान ११ बजे प्रमुख दलका शीर्ष नेताले छलफल गरेपछि संसद अवरोध हटाउनका लागि निष्कर्षमा पुगिने कार्यदलका एक सदस्यले बताए।

भूकम्प प्रभावितलाई एकमुष्ठ दुर्इ लाख रुपैयाँ अनुदान तत्काल वितरण गर्नुपर्ने माग गर्दै काँग्रेसले चार दिनयता संसद अवरुद्ध गर्दै आएको छ।

यस्तै, काँग्रेसले सोमबारको व्यवस्थापिका-संसद बैठक पनि अवरुद्ध पारेको छ। बैठकको सुरुमा नै काँग्रेस सांसद डा रामशरण महतले भूकम्प प्रभावितलाई एकमुष्ट दुर्इ लाख रुपैयाँ नदिएसम्म संसद चल्न नदिने बताए। उनले भूकम्प प्रभावितका आँसुले आफूहरूलाई पोलेको भन्दै तत्काल एकमुष्ठ दुर्इ लाख रुपैयाँ दिनुपर्ने माग गरे।

महतले पुनःनिर्माणको काममा पार्टीगत रुपमा ठेक्कापट्टा भएको भन्दै आपत्ति जनाए। काँग्रेसको विरोधपछि संसद् बैठक दिउँसो साढे ३ बजेसम्मका लागि स्थगित भएको थियो। बैठक स्थगित भएपछि नेताले सहमतिको प्रयास गरे पनि तत्काल समाधान हुने नदेखिएपछि कार्यदल गठन गरेर सहमति खोज्ने दलहरुबीच सहमति भएको थियो।

कार्यदल तहमा छलफल गरेरमात्रै निकास खोज्न दलहरु सहमत भएपछि संसद् सचिवालयले मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको जनाएको हो।

कांग्रेसले भूकम्पप्रभावितलाई एकमुष्ट दुर्इ लाख रुपैयाँ दिनुपर्नेलगायतका माग राख्दै चार दिनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ।

- अादर्श समाज सम्वाददाता