रुख ढाल्न मनपरी सिफारिस

New Image

पोखरा। सम्पदा संरक्षणको क्षेत्रमा पटक-पटक विवादमा आएको पोखरा उप-महानगरपालिका फेरि एक पटक विवादित बनेको छ। नगरपालिकाले पोखरा-६, बैदाम स्थित केदारेश्वर मन्दिर नजिकको सुकुम्बासी बस्तीमा रुख ढाल्ने स्वीकृति दिएको हो। हावाहुरीका कारण जोखिम बढेको भन्दै सुकुम्बासीले निवेदन दिएपछि रुख काटछाँट गर्ने स्वीकृति दिइएको नगरपालिकाले जनाएको छ। काटछाँट भनिए पनि केदारेश्वर क्षेत्रका दुर्इ सिमलका रुख ढालिएको छ। रुख काटछाँट गर्ने सिफारिसमा नगरपालिकाका कानुन अधिकृत नारायण शर्माले हस्ताक्षर गरेका छन्। ‘वातावरण शाखाको प्रतिवेदनलाई हेरेर रुखको शोभा नबिग्रिने गरी काटछाँट गर्न सिफारिस दिइएको हो’-शर्मा भन्छन्-‘सुकुम्बासी वस्तीका बिषयमा मलाई जानकारी दिएन, आगामी दिनमा यस्तो गल्ती गर्ने छैन।’

नागरिकलाई कानुन सिकाउने र कानुनी राज्य स्थापित गर्ने निकायले नै गैरकानुनी काम गर्नु लाजमदो भएको सरोकारवाला बताउँछन्। नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले कर्मचारीले नबुझिकन गलत कामको सिफारिस दिन नमिल्ने भन्दै दोषी कर्मचारीलाई कारवाही गर्नुपर्ने बताए।

र्ँकर्मचारीकै मिलेमोतोमा प्राकृतिक सम्पदा नष्ट हुने अवस्थामा पुगिसके’-पौडेलले भने-‘यसरी गलत फाइदा उठाउनेलाई छानबिन गरी कारबाही गर्नुपर्छ।’ उनले नगरिपालिकाको सिफारिसले सुकुम्बासीलाई प्रोत्साहन मिलेको बताए। सार्वजनिक जग्गा मिचेर बसेका सुकुम्बासीलाई हटाउनुपर्नेमा उल्टै सुकुम्बासीको निवेदनलाई सम्बोधन गर्नु अवैधानिक भएको उनको भनाइ छ।

पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाशमोहन खनालले आफ्नो स्वामित्वको जग्गामा नगरपालिकाले मनपरी गरेको आरोप लगाए। ‘सुकुम्बासीको निवदेन भन्दै अर्काको स्वामित्वमा रहेको जग्गामा मनपरि गर्ने अधिकार नगरपालिकालाई छैन’-उनले भने-‘यसको छानबिन गरेर आवश्यक कारबाही अगाडि बढाउनुपर्छ।’

कानुन अधिकृत शर्माले भने आफूले सिफारिस गरेको जग्गाको स्वामित्वका बिषयमा आफूलाई जानकारी नभएको बताएका छन्। खनालले नगरपालिकाको आम्दानी बढाउने नाममा मनपरी बुटा ढाल्ने काम भएको दाबी गरेका छन्।

२०५५ तत्कालीन नरेशशंकर पालिखे अध्यक्ष हुँदा पार्क निर्माणका लागि उपत्यका नगर विकास समितिले आफ्नै स्वामित्वमा जग्गा रहने गरी नगरपालिकालाई स्वीकृति दिएको थियो। तर अहिलेसम्म पार्क निर्माण हुन सकेको छैन। अहिले त्यस क्षेत्रमा २५ बढी सुकुम्बासी परिवार बस्दै आएका छन्।

- अादर्श समाज सम्वाददाता