नारायणगढ-मुग्लिन सडकको विकल्प खोजी

चितवन, १३ असार। नारायणगढ-मुग्लिन सडक खण्डमा घण्टौं जाम हुने समस्या बढ्दै गएपछि यात्रुले वैकल्पिक मार्ग खोजी थालेका छन्।

यात्रु तथा सवारी चालकले वैकल्पिक राजमार्ग र हवाई मार्गको प्रयोग गर्न थालेका हुन्। जसका कारण हवाइ यात्रुको संख्यामा बृद्धि भएको छ भने उक्त सडक खण्डमा सवारीको संख्यामा कमी आएको छ। सानातिना कामका लागि काठमाडौं जाने क्रम पनि घटेर गएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका इन्स्पेक्टर राजन भेटवाल नारायणगढ-मुग्लिन सडक खण्ड भएर जान खोज्ने साना सवारीसाधनलाई त्रिभुवन राजपथ प्रयोग गर्न सुझाव दिने गरिएको बताउँछन्। उनका अनुसार मिनीबसभन्दा साना अधिकांश सवारीका साधनले अचेल त्रिभुवन राजपथ प्रयोग गर्न थालेका छन्। जसका कारण नारायणगढ-मुग्लिन सडक खण्डमा गुड्ने अधिकांश सवारीसाधनमा अहिले बस र ट्रकमात्रै हुने गरेका छन्। यो मार्ग हुँदै दैनिक सात हजार तीन सयभन्दा बढी सवारी आवातजावत गर्दै आएकोमा यो संख्या अहिले २५ प्रतिशतभन्दा बढीले कमी आएको भेटवालले बताए।

नारायणगढबाट मुग्लिन हुँदै काठमाडौं जाँदा एक सय ४६ किलोमिटर पर्दछ भने नारायणगढबाट त्रिभुवन राजपथ प्रयोग गरेर हेटौंडा-नौबीसे हुँदै काठमाडौं जाँदा एक सय ८७ किलोमिटर पर्ने भेटवालले बताए।

त्यसैगरी, पूर्र्वी नेपालबाट काठमाडौं जाने सवारीले त्रिभुवन राजपथ हुँदै हेटौंडाबाट नौबीसेको बाटो प्रयोग गर्न थालेका छन्। पूर्र्वी नेपालबाट आएका सवारीलाई हेटौंडाबाट सोझै काठमाडौं जाँदा एक सय १५ किलोमिटरमात्रै पर्दछ। हेटौंडा-नारायणगढ मुग्लिन हुँदै काठमाडौं जाँदा भने दुर्इ सय १८ किलोमिटर पर्दछ। तर त्रिभुवन राजपथ सडक साँघुरो भएकाले ठूला सवारी सञ्चालन हुन कठिन छ।

उता, पश्चिम नेपालबाट काठमाडौं जान आउने सवारी साधन बुटवलबाट पोखरा हुँदै मुगलिन निस्किएर काठमाडौं जाने गरेका छन्। बुटवलबाट नारायणगढ हुँदै मुगलिनसम्मको दूरी एक सय ५० किलोमिटर छ भने बुटवलबाट पोखरा हुँदै मुग्लिनको दूरी दुर्इ सय ३३ किलोमिटर पर्दछ। दूरी लामो भए पनि जोखिम कम हुने भएपछि यात्रु र सवारी चालकले वैकल्पिक मार्ग प्रयोग गर्न थालेको नारायणगढ-मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले बताए।

सडक मार्गबाट काठमाडौं जाँदा कति समय लाग्छ भन्ने ठेगान नहुँदा यात्रुले हवार्ई मार्ग पनि प्रयोग गर्न थालेका छन्। भरतपुर विमानस्थलबाट काठमाडौं जाने यात्रुको संख्या निकै बढेको छ। भरतपुरबाट काठमाडौं दैनिक बढीमा तीन हवाई उडान हुँदै आएकोमा अचेल दैनिक छ बढी उडान हुँदै आएको बुद्ध एयरका भरतपुर शाखा प्रबन्धक भक्त थापा बताउँछन्। उनका अनुसार बुद्ध एयरले दैनिक दुर्इ उडान बढाएर अहिले कम्तिमा पाँच उडान भर्दै आएको छ।

- अादर्श समाज सम्वाददाता