‘उद्योगी, व्यवसायी इमान्दार बन्नुपर्छ’

पोखरा, १२ असार। आफ्नो उद्योग र व्यवसायप्रति उद्योगी, व्यवसायी इमान्दार बन्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन्।

उपभोग्य वस्तु खरिद गर्दा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याच नम्बर साथै तौल, उत्पादन र उपभोग्य मिति उल्लेख गर्नुपर्ने उनीहरूको भनाइ थियो। बाणिज्य तथा आपूर्र्ति व्यवस्थापन बिभाग, काठमाण्डौंद्वारा आइतबार पोखरामा आयोजित कार्यक्रममा सहभागीले यस्तो बताएका हुन्।

अन्तक्रिर्याका सहभागीले बजारमा उपलब्ध उपभोग्य वस्तुप्रति स्वयं उपभोक्ता वर्ग नै सचेत बन्नुपर्नेमा जोड दिए। उनीहरूले उत्पादन तथा उपभोग्य मिति नभएको वा केरमेट गरिएको साथै पुनः लेबलिङ गरेको वस्तु उपभोक्ताले खरिद गर्न नहुने औंल्याए। उपभोक्ताले उत्पादित वस्तुको प्रयोग गर्दा त्यस वस्तुको कच्चा पदार्थ, भण्डारण बिधि र उपभोग गर्ने तरिका उल्लेख भए/नभएकोतर्फ सचेत बन्नपर्नेमा उनीहरूले जोड दिए। औषधी तथा औषधीजन्य पदार्थको प्याकिङमा उपभोग्य मिति र प्रयोग गर्ने विधि उल्लेख भए/नभएको उपभोक्ताले ख्याल राख्नुपर्ने उनीहरूले औंल्याए।

अखाद्य वा कमसल उपभोग्य वस्तु तथा सेवाको बिक्री, बितरण भएमा स्थानीय प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यलय वा बाणिज्य तथा आपूर्र्ति व्यवस्थापन बिभागमा उजुरी दिन सकिने व्यवस्था रहेको विभागका महानिर्देशक गोकुलप्रसाद धितालले बताए।

उपभोक्ता हित संरक्षण र आपूर्र्तिको व्यवस्थापन गर्ने उद्देश्यले  छ महिनाअघि स्थापना भएको वाणिज्य तथा आपूर्र्ति व्यवस्थापन विभाग गठन भएको हो। महानिर्देशक धितालले अन्तक्रिर्यामा उठेका सवाललाई बिभागले सकारात्मक रुपमा लिएको बताए। ‘उद्योगी, व्यवसायीलाई स्वच्छ र स्वस्थ उपभोग्य वस्तुहरुको उत्पादनमा लगाउने विभागको पहल हुनेछ’-महानिर्देशक धितालले भने-‘स्वास्थ्यलाई असर पुर्‍याउने नाजायज खाद्य र उपभोग्य बस्तुहरु उत्पादन गर्ने उद्योगी, व्यवसायीहरुलाई दण्ड, सजाय गरिन्छ।’

पोखराको बजारमा अखाद्य वस्तु र औषधीजन्य पदार्थको खरिदका साथै उपभोग्य सेवाबाट यहाँका उपभोक्ता ठगिएको विषय उठ्यो।

अन्तक्रियामा पोखराका उद्योगी, व्यवसायीको पनि सहभागिता थियो। उनीहरूले उत्पादित स्वच्छ उपभोग्य वस्तुलाई बजारमा लैजाने प्रतिबाद्धता जनाए। सो अवसरमा विभागका निर्देशक लक्ष्मण श्रेष्ठ र उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधवप्रसाद ढुङ्गानाले छुट्टछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए। निर्देशक श्रेष्ठले प्रस्तुत गरेको ‘उपभोक्ता हित संरक्षण क्षेत्रमा कानुनी, संगठनात्मक व्यवस्था र विभागको भूमिका’ विषयक कार्यपत्रमा उपभोक्ता, उपभोक्ता अधिकार, वस्तु र सेवाको सम्बन्धमा गर्न नहुने काम, अत्यावश्यक वस्तु, आपूर्र्ति व्यवस्थापन, उपभोग्य वस्तुहरुमा उल्लेख गर्नुपर्ने सजाय व्यवस्थाको सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए।

त्यस्तै, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले ‘उपभोक्ता हितका लागि उपभोक्ता अधिकारवादी संस्थाहरूको भूमिका’ बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए। राज्यले उपभोक्तासँग सम्बन्धित ऐन, कानुन समयसापेक्ष परिमार्जन गर्नुपर्ने तिमिल्सिनाको कार्यपत्रमा उल्लेख छ।

कार्यपत्रमाथि उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन र पत्रकार शुशील पाण्डेले टिप्पणी गरेका थिए। उपभोक्तालाई न्याय दिलाउन विभागलाई स्रोत, साधन सम्पन्न बनाउनुपर्नेमा महर्जनले जोड दिए। कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका उपाध्यक्ष मीनराज काफ्ले, उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिल कोइरालालगायतले पनि बोलेका थिए।

विभागका महानिर्देशक गोकुलप्रसाद धितालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निर्देशक लक्ष्मण श्रेष्ठले गरेका थिए।

- अादर्श समाज सम्वाददाता