नीति व्यवस्था पालनामा सुधार

पर्वत, १२ असार। स्थानीय निकायको कानुनी तथा नीतिगत व्यवस्था पालना अनुगमनअर्न्तर्गत एलजिएएफ कार्यक्रमले जिल्लामा चालु आवमा गरेका काम र उपलब्धि सार्वजनिक गरेको छ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सहयोगमा नवचेतना सामुदायिक विकास केन्द्रले जिल्लाका २२ गाविस, एक नगरपालिका र जिविसमा सञ्चालन गरेको यो कार्यक्रमले वर्षभरि सम्पादन गरेका काम र स्थानीयस्तरमा परेको प्रभावबारे जानकारी गराएको हो।

संस्थाका अनुगमन अधिकृत सुदीप लामिछानेले वाषिर्क प्रगति प्रतिवेदन प्रस्तुत गर्दै स्थानीय निकाय विभिन्न नीतिगत व्यवस्थाको पालना गर्न अलमलमा रहेको विगतको अवस्था अहिले सुध्रिएको बताए।

पहिलो चरणमा २२ गाविसमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी दोस्रो चरणमा क्षमता अभिवृद्धि तालिम र अन्तिम चरणमा सार्वजनिक सुनुवाइलगायत गरेपछि गाविस सचिव, सामाजिक परिचालक, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, विभिन्न सञ्जाल, नागरिक अधिकारयुक्त सेवा र कर्त्तव्यप्रति जिम्मेवार बन्दै गएको लामिछानेले बताए। गत आवमा नौ गाविसमा सञ्चालन भएको एलजिएएफले कार्यक्षेत्र विस्तार गरेको थियो।

एलजिएएफ कार्यक्रमका अनुगमन अधिकृत प्रकाश पौडेलले उपभोक्ता समिति गठन गर्दा आम भेला कम हुने गरेको, शिक्षक, कर्मचारी र निर्णय गर्ने तहका नेता उपभोक्ता समितिमा रहेको, उपभोक्तालाई तालिमको अभाव, लक्षित वर्गको बजेट अन्यत्रै खर्च हुने गरेको, लागत सर्वेक्षण विना नै काम भएको लगायत समस्या कार्यक्रम सञ्चालनका क्रममा भेटिएको बताए।

स्थानीय विकास अधिकारी युवराज पौडेलले स्थानीय निकायलाई पारदर्शी बनाउन एलजिएफले खेलेको भूमिकाको प्रशंसा गरे।

- अादर्श समाज सम्वाददाता