भुजेल संस्कारअनुसार न्वारान

sambridha

लमजुङ, १२ असार। लमजुङमा एक नवजात शिशुको भुजेल संस्कार एवं परम्पराअनुसार न्वारान गरिएको छ।

जिल्लामै पहिलो पटक बेसीसहर नगरपालिका-१०, भीमसेनस्थानका उद्यमी कमल भुजेलकी छोरीको भुजेल संस्कार एवं परम्परा अनुसार न्वारान गरिएको हो। भुजेलका पुरोहित कृष्णबहादुर भुजेलले त्यसरी न्वारान गरेका हुन्। नवजात शिशु कृणबहादुरको दोस्रो सन्तान हुन्। त्यसअघि २०६५ सालमा जन्मिएका छोराको न्वारान गर्दा ब्राहृमणकै जस्तो हवनका साथ गरेको कमल भुजेलले बताए।

आफूले काठमाडौँमा बस्दा २०६० सालमा भएको जनजातिको राष्ट्रिय सम्मेलनमा भाग लिएपछि भुजेल संस्कृतिबारे खोजीनीति गर्न थालेको कमलको भनाइ छ।

सो न्वारान गराउन तनहुँको आँवुखैरेनी नगरपालिका-१ का कृष्णबहादुर भुजेल आएका थिए। उनले आफ्ना जिजुबाजे मने भुजेलबाट उक्त कला सिकेको बताए।

कमल भुजेल, भुजेल विद्यार्थी मञ्चको विद्यार्थी संगठनको केन्द्रीय कोषाध्यक्ष साथै बेसीसहर नगर समितिको अध्यक्ष हुुन्। उक्त काम आफैबाट सुरु गर्नुपर्छ भन्ने लागेर गरेको र यस्तो कार्य जिल्लामा नै पहिलो पटक गरिएको उनको दाबी छ। उनले आगामी दिनमा सबै भुजेललाई यस अनुसार कार्य गर्न समाजको बैठकबाट निर्णय गरी कार्यान्वयन गर्नेे बताए। लमजुङमा करिब नौ हजार भुजेल रहेको लालबहादुर भुजेलले बताए।

- अादर्श समाज सम्वाददाता