बिहानी बचतमा रक्तदान

पोखरा, १२ असार। पोखराको सभागृहचोकस्थित बिहानी बचत तथा ऋण सहकारी संस्था लिको छैंटौं वाषिर्कोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदानमा ४८ युनिट रगत सङ्कलन भएको छ।

सञ्चार केन्द्र कास्कीका संयोजक धर्मराज अधिकारीले पहिलो रक्तदाता शिवकुमार भण्डारीलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए। कार्यक्रममा अधिकारीले स्वास्थ्य व्यक्तिले हरेक तीन महिनामा रगत दिन सक्ने र त्यसले स्वास्थ्यमा कुनै असर नगर्ने बताए।

सहकारीका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष धर्मराज भण्डारी, कार्यक्रम संयोजक मुक्तिनाथ ढकाल, सचिव किरण पोख्रेललगायतले बोलेको संस्थाका प्रबन्धक टंकप्रसाद अधिकारीले जानकारी दिए।

यस्तै, सहकारीका कर्मचारीले ढिकुरपोखरीस्थित लक्ष्मी देउराली शिशु स्याहार केन्द्रका ३२ विद्यार्थीलाई शैक्षिक सामाग्री तथा झोला वितरण गरेका छन्। विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि शैक्षिक सामग्री वितरण गरिएको प्रबन्धक अधिकारीले बताए। उक्त अवसरमा शिक्षकलाई डायरी र पेन पनि वितरण गरिएको थियो।

- एजेन्सी