अखेटोपहारको नमूना सङ्कलन

chitwan

चितवन, १२ असार। देशभरिबाट सङ्कलन गरी चितवनको कसरा र टिकौलीमा भण्डारण गरिएका वन्यजन्तुका अखेटोपहारको नमूना सङ्कलन र बार कोडिङ कार्य सुरु भएको छ।

वन विभागअर्न्तर्गतका कार्यालयबाट सङ्कलित अखेटोपहार पूर्र्वी चितवनको सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीमा र निकुञ्ज विभागअर्न्तर्गतका निकुञ्ज र आरक्षबाट सङ्कलित अखेटोपहार चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरामा भण्डारण गरिएको छ।

ती अखेटोपहारको व्यवस्थापन गर्न प्रत्येक वस्तुको सानो अंश नमूना लिने र ती वस्तुमा बार कोडिङ भइरहेको छ। टिकौलीमा पनि एक हप्ताभित्रमा सम्पन्न हुने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए।

प्रत्येक अखेटोपहारको भविष्यमा डिएनए परीक्षणलगायतका कार्य गर्न सानो अंग सुरक्षित तरिकाले राख्ने व्यवस्था गरिएको छ। खाग, हड्डी जस्ता बस्तुको डि्रल गरी धुलो नमूनाको रुपमा राखिएको छ। सबै बस्तुको नमूना सङ्कलन र बार कोडिङपछि मन्त्रिपरिषद्ले गर्ने निर्णयको आधारमा के-के नष्ट गर्ने र के कतिलाई संरक्षण र भण्डारण गर्ने भन्ने कुरा स्पष्ट हुने कँडेलले बताए।

सरकारले टिकौलीमा २०५४ सालमा केही अखेटोपहार जलाएर नष्ट गरेको थियो। सो समयमा पनि केही राम्रो अवस्थामा रहेका आखेटोपहारलाई राखिएको थियो।

टिकौलीमा भइरहेको नमूना सङ्कलन र बारकोडिङको वन मन्त्री अग्निप्रसाद सापकोटाले अनुगमन गरेका छन्। मन्त्री सापकोटाले अखेटोपहारको नमूना राखेर अन्य नष्ट गर्नुपर्ने बताए। उनले सबै अखेटोपहारको नमूना लिएर केही विशेषलाई अध्ययन अवलोकनका लागि राख्ने र अन्यलाई नष्ट गर्न प्रस्ताव गरिने बताए।

वन सचिव उदयचन्द्र ठाकुर, वन विभागका महानिर्देशक गौरीशंकर तिमला, निकुञ्ज विभागका उपमहानिर्देशक डा महेश्वर ढकाल, प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेललगायतको टोलीले अखेटोपहारको नमूना सङ्कलन र बार कोडिङ हुँदै गरेको कार्यको निरीक्षण गरेको हो।

लामो समयदेखि जम्मा भएका दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको खाग, पाटे बाघको छाला, जंगली हात्तीका दाह्रालगायतका जीवजन्तुका अंग भण्डारण गरिएको छ। जीवजन्तु प्राकृतिक रुपमा मरेमा या चोरीशिकारले मारेमा हाड, छालालगायतका महत्वपूर्ण अंग झिकेर राख्ने प्रचलन छ। त्यसैगरी, देशका विभिन्न ठाउँबाट तस्करबाट बरामद गरिएका वन्यजन्तुका अंग पनि यहाँ ल्याइएको छ।

दुबै ठाउँमा गरेर गैंडाका तीन सय ६९ खाग, पाटे बाघका ६९ छाला, चितुवाको छाला चार सय ९३ वटा, चरीबाघको छाला दुर्इ वटा, निगाले बाघको छाला एक वटा, सालकको छाला दुर्इ वटा, जंगली हात्तीका एक सय ८५ वटा दाह्रा, भालुको नङ्ग्रा ५२ वटा, भालुको पित्त ४५ वटा, कस्तुरी मृगको ३६ थान बिनालगायतका वस्तु सङ्कलन गरिएको छ। वहुमूल्य गैंडाको खागमध्ये दुर्इ सय ५३ कसरामा छन् भने एक सय १६ वटा टिकौलीमा छन्।

- अादर्श समाज सम्वाददाता