पोखरा-१८ को तालिम सकियो

पोखरा, १२ असार। वडा स्तरीय महिला समन्वय समिति पोखरा-१८ ले आयोजना गरेको अचार बनाउने, उद्घोषण एवं महिला शसक्तीकरण तालिम सकिएको छ।

तालिम समापन कार्यक्रममा बोल्दै सांसद शारदा पौडेलले २१ औं शताब्दी महिलाको युग भएको बताउँदै केही गर्न सक्छु भन्ने आत्मविश्वासका साथ महिलाअघि बढ्नुपर्ने बताइन्।  परनिर्भरताका कारण महिला हिंसा बढेको भन्दै उनले महिलाले  सीप सिकेर स्वदेशमै आर्जन गर्नुपर्नेमा जोड दिइन्।

सांसद पौडेलले  वडा स्तरीय महिला समन्वय समिति पोखरा-१८ लाई अक्षय कोष स्थापनाका लागि एक लाख एक हजार प्रदान गर्ने घोषणा गरिन्।

नेपाल खानेपानी संस्थानका केन्द्रीय अध्यक्ष डा. परमेश्वर पोखरेलले सीप नै मानिसको सबैभन्दा ठूलो सम्पत्ति भएको उल्ल्लेख गर्दै सिकेको सीपलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याए।

त्यस अवसरमा समन्वय समितिमा रहेर  संस्थाको हितमा काम गरेको भन्दै सल्लाहकार  राधा कार्की र टीका कार्कीलाई सम्मान गरिएको थियो। कार्यक्रममा पोखरा १८ की आर्थिक रुपमा विपन्न महिला तिलकुमारी अधिकारीलाई महिला समन्वय समितिकै पहलमा सङ्कलन गरिएको २१ हजार छ सय १६ रुपैयाँ प्रदान गरिएको थियो।

कार्यक्रममा एमाले पोखरा-१८ का अध्यक्ष माओ थापा, महिला सल्लाहकार संयोजक यशोदा भट्टराई, समाज सुधार आमा समूहका अध्यक्ष मोतिमाया अधिकारी, खाल्टे आमा समूहका अध्यक्ष रामकुमारी खत्री, खानेपानी बोरिडका अध्यक्ष शिवप्रसाद पोखरेल, महिला समन्वय समितिका सल्लाहकार जगन्नाथ तिमिल्सिना र कलाकार जुना क्षेत्रीले बोलेका थिए।

वडा स्तरीय महिला समन्वय समिति पोखरा-१८ का अध्यक्ष इन्द्रमाया बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष काशीमाया गुरुङले स्वागत र सचिव देवी कार्कीले सञ्चालन गरेकी थिइन्।

एक हप्तासम्म सञ्चालन भएको तालिममा महिला उद्यमी हिरा भट्टराइ, मीरा अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शुष्मा पौडेल, क्रियाशील पत्रकार महिला समूह कास्कीका अध्यक्ष सरिता तिम्सिना पगेनी, रेडियो जननीका स्टेसन म्यानेजर बिमला भण्डारीलगायतले सहजीकरण गरेका थिए। तालिममा १६ आमा समूहका ८० महिलाको सहभागिता थियो।

- अादर्श समाज सम्वाददाता