‘हेल्थ अपडेट’ आयो

पोखरा, ११ असार। स्वास्थ्य क्षेत्रलाई उपेक्षा गर्न सकिँदैन। सरकार र गैरसरकारी निकायले स्वास्थ्य क्षेत्रमा अर्बौ रकम खचिइरहेका छन्। यो क्षेत्रलाई पत्रकारिताले भने कमै ध्यान दिएको देखिन्छ।

स्वास्थ्यसम्बन्धी स्तरीय पत्रिकाको देशमै आवश्यकता महसुसस गरिरहेका बेला पोखरामा बिहीबारबाट स्वास्थ्यसम्बन्धी मासिक पत्रिकाले प्रकाशन यात्रा सुरु गरेको छ। स्वास्थ्यसम्बन्धी सामाग्री समेटिएको हेल्थ अपडेट मासिक पत्रिकाको पोखराको पहिलो अस्पताल साइनिङ अस्पतालका पूर्व नर्स फुर्फा शेर्पा प्रधान, दाहिनेे छातीमा मुटु भएका वामनकुमार पराजुली, सराङकोटमा गत वर्ष सवारी दुर्घटनामा परी शारीरिक रुपमा असक्त रहेका शेरबहादुर थापा र सविता खड्काले संयुक्त रुपमा विमोचन गरे।

ऋषि खतिवडा प्रकाशक तथा सम्पादक रहेको उक्त पत्रिकामा विशेषज्ञका सुझाव, स्वास्थ्यसम्बन्धी खबर, स्वास्थ्य क्षेत्रका विकास, निर्माण, नयाँ विकास हुने प्रविधि, उपचारका तरिका आदि समेटिएका छन्।

पत्रिकाका सम्पादक/प्रकाशक खतिवडाले पोखरामा स्वास्थ्यसम्बन्धी पत्रिका नभएको अवस्थामा आफूहरूले उक्ता आवश्यकता पूर्ति गर्ने प्रयास गरेको बताए। उनले पाठकलाई स्तरीय सामाग्री दिएर प्रकाशन यात्रा निरन्तर राख्ने प्रतिवद्धता पनि जनाए।

कार्यक्रममा युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)का प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्त, दाहिने मुटु भएका वामन पराजुली, पत्रकार हेमराज अधिकारी, रुपा अधिकारीलगायतले बोलेका थिए।

- अादर्श समाज सम्वाददाता