सहमतिमै स्थानीय चुनाव : थापा

पोखरा, १० असार। उपप्रधान, परराष्ट्र तथा स्थानीय विकास मन्त्री कमल थापाले दलहरूको सहमतिमै स्थानीय निकायको निर्वाचन गर्ने पक्षमा सरकार रहेको बताएका छन्।

छ महिनाभित्रै स्थानीय निकायको निर्वाचन गराउन सरकार तयार रहेको थापाले बताए। राप्रपा नेपाल कास्कीको तेस्रो जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले स्थानीय तह पुनसंरचना आयोगसँग सरकारले भदौभित्र प्रतिवेदन माग गरिसकेको जनाए। आयोगले भदौभित्रै प्रतिवेदन दिन सक्यो भने मङसिर महिनामा स्थानीय निकायको निर्वाचन सजिलैसँग गर्न सकिने विचार व्यक्त गर्दै उनले सबैको सहमतिमा मिति घोषणा गर्ने जानकारी दिए।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसप्रति लक्षित गर्दै थापाले भने-‘जिम्मेवार दलहरूले नै पार्टी त स्वार्थका कारण अनेक बहानामा चुनावका लागि आनाकानी गरिरहेको अवस्था छ। तर, उनीहरूको मागअनुसार स्थानीय तहको सञ्जाल बनाएर पनि चुनावमा जान सकिन्छ।’

उनले राप्रपा नेपालको सिद्धान्त उही रहेको स्पष्ट पार्दै आफ्नो पार्टी सिद्धान्त, मूल्इ, मान्यताबाट विचलित नभएको प्रष्ट पारे। ‘मलाई अहिले पनि लाग्छ नेपाली जनताको अभिमतको सम्मान भएको छैन’-उनले भने-‘हिन्दू राष्ट्र राख्ने कि नराख्ने भनेर जनमत सङ्ग्रह गरे ८० प्रतिशत मत राख्ने पक्षमा आउँछ।’

संविधानमा स्पष्ट धर्म निरपेक्ष लेखिएको तर अरु देशमा जस्तो नभई धर्म निरपेक्ष भन्नाले सनातन धर्मको रक्षा भनेर परिभाषित गरिएकोबारे बुझ्न कार्यकर्तालाई उनले अनुरोध गरे। उनले यसबारे आफ्नो भनाइलाई संविधानको अपव्याख्या गरिएको भन्ने आरोपतर्फ आक्रोश पोखे। ‘संविधानमै लेखिएको विषय हो। संवैधानिक दायित्व निर्वाह गरेका हौं। संविधान विपरित होइन’-थापाले स्पष्ट पारे।

थापाले नयाँ संविधान सम्झौताको साझा दस्तावेज भएकाले सबैले स्वीकार गरी अघि बढ्नुपर्ने बताएका छन्। विविधता बोकेको संविधानसभाबाट सबैले चाहेजस्तो संविधान निर्माण गर्न नसकिने भएकाले यो संविधान नै उत्कृष्ट भएको बताए। उपप्रधानमन्त्री थापाले संविधान अपरिवर्तनीय नहुने भएकाले आफैले भनेजस्तो भएन भन्दैमा आन्दोलित हुनुपर्ने अवस्था नरहेको बताए। उनले थपे-‘पूर्ण विचार स्वतन्त्रताको व्यारेन्टी, कुनै पनि अवस्थामा पार्टी प्रतिबन्धित नहुने अवस्था, आवधिक निर्वाचन र संविधान संशोधन गर्न सक्ने सरल र लचकतापूर्ण व्यवस्था रहेको यो मुलुभुत मान्यताका कारणले गर्दा संविधान उत्कृष्ट छ।’

उनले यही कारणले जनताप्रति विश्वास हुनेले फरक मान्यता भए पनि संविधान स्वीकार गरी अघि बढे भविष्यमा आफ्नै मान्यता स्थापित गर्न सक्ने बताए।

संविधान कार्यान्वयन गराउनका लागि राजनीतिक विवाद थाँती राखेर अघि बढ्नुको विकल्प नभएको भनाइ उनको थियो।

‘अहिलेको संविधानमा आफ्ना एजेण्डा स्थापित गराउन कसैले पनि जंगल जानु पर्दैन, सीमानामा बसेर ढुङ्गा हान्नुपर्दैन’-उनले भने-‘आफ्ना एजेण्डा जनतामा स्थापित गराउनुपर्छ, सिद्धान्त हुने पार्टीका लागि एउटा चुनाव हार्दैमा सिद्धान्त हार्दैन।’

६२ र ६३ को जनआन्दोलनपछि आफूहरू जस्ता फरक मत भएकाहरूलाई समेटेरअघि बढ्न राप्रपा नेपालको गठन भएको बताएका उनले ६४ को भन्दा २०७० को चुनावले लोकप्रियता बढाएको दाबी गरे।

बहुदलीय प्रजातन्त्रको व्यवस्थाको आगमनपछि २५ वर्षको समयावधिमा २३ सरकार गठन भएको स्मरण गर्दै उपप्रधानमन्त्री थापाले एक/एक वर्षमा प्रधानमन्त्री फेर्दै गयौँ भने देश र दुनियाँमा नराम्रो सन्देश जानेतर्फ सचेत गराए।

राप्रपा नेपाल कास्कीका जिल्ला अध्यक्ष जयलाल पुनको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, नेपाली काँग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराई, पार्टीका केन्द्रीय सदस्य कुलबहादुर गुरुङ ‘कुलु, चन्द्रबहादुर गुरुङ, गीता गुरुङ र भीमबहादुर भण्डारीले बोलेका थिए।

- अादर्श समाज सम्वाददाता