आशा क्लिनिक अब नगर स्वास्थ्य क्लिनिक

पोखरा, १० असार। पोखराको नयाँगाउँस्थित आशा क्लिनिकको प्रशासिनक जिम्मेवारी पोखरा उप-महानगरपालिकाले लिएको छ।

२०५७ सालमा स्थापित आशा क्लिनिकको स्वास्थ्य क्षेत्रको सम्पूर्णा जिम्मेवारी पोखरा उम-पहानगरपालिकाले जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीसँगको सहकार्यमा अगाडि बढाउने गरी जिम्वेवारी ग्रहण गरेको हो। पोखरा उप-महानगरपालिकाले उक्त क्लिनिकलाई सहरी (नगर) स्वास्थ्य केन्द्रको रुपमा विकास गर्ने लक्ष्य लिएको छ।

बाल हितकारी परियोजनाअन्तर्गत स्थापित क्लिनिकले बालबालिकादेखि गर्भवती महिलाको स्वास्थ्य परीक्षण गर्दै आएको छ। ‘हामीले आशा क्लिनिकको भौतिक संरचना हस्तान्तरण गरेका छैनौं। तर स्वास्थ्य कार्यक्रमको प्रशासनिक जिम्मेवारी पोखरा उप-महानगरपालिकालाई हस्तान्तरण गरेका हौं’-बालहितकारी परियोजनाका प्रमुख माधव आचार्यले भने-‘दुर्इ वर्ष अघिदेखि नै सहकार्य गर्ने छलफल भएको थियो तर बिहीबारमात्रै सम्झौता भएको हो।’ युकेबाट सञ्चालित सिडब्लुएसएन परियोजना अन्तर्गत २०५७ पुष १० गतेदेखि आशा क्लिनिकको रुपमा सञ्चालित थियो। ओएनजीडी – एफर्एनईएल नामक संस्थाले झण्डै एक लाख ५० हजार युरो लागतमा भौतिक संरचना तयार गरेको हो। सात रोपनी क्षेत्रफलमा निर्माण गरिएको आशा क्लिनिकले पोखरा-१५ र ५ का सर्वसाधारणलाई सेवा दिने लक्ष्य लिएको पोखरा उप-महानगरपालिका कार्यालयका वरिष्ठ अधिकृत ओमराज पौडेलले जानकारी दिए।

उक्त केन्द्रको उपप्रधान मन्त्री कमल थापाले शनिबार उद्घाटन गरे। थापाले स्वास्थ्यका क्षेत्रमा राज्यको लगानी उल्लेख्य रहे पनि व्यवस्थापनमा सुधार गर्नुपर्नेमा जोड दिए।

- अादर्श समाज सम्वाददाता