मिटर नचलाउने ट्याक्सी प्रहरी निशानामा

* पहिलो दिन चार ट्याक्सी कारबाहीमा। * जसरी पनि कार्यान्वयन गराउँछौं : प्रशासन। * पुवाधार विना सम्भव छैनः व्यवसायी

पोखरामा ट्याक्सीले मनपरी भाडा असुलेको गुनासो बढिरहेका बेला प्रहरीले मिटरमा नचल्नेमाथि कारबाहीको चेतावनी दिएको छ। मिटरमा चलाउन यसअघि पटक-पटकको प्रयास विफल भए पनि यसपालि कडाइका साथ लागू गर्ने प्रयत्नमा प्रशासन छ ।

ट्याक्सी मिटरमा चल्न नमानेमा खबर गर्न प्रहरीले यात्रुलाई आग्रहसमेत गरेको छ। जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय कास्कीले संयुक्त विज्ञप्ति जारी गरी ट्याक्सी मिटरमा चल्न नमाने वा बढी भाडा लिएको पाइए प्रहरीलाई खबर गर्न भनिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘कास्की जिल्लाभित्र चल्ने भाडाका ट्याक्सीहरुले मिटरमा चलाउन नमानेमा, बढी भाडा लिएमा वा यात्रुले भनेको स्थानमा जान नमानेमा नजिकैको प्रहरी वा ट्राफिक प्रहरीलाई खबर गर्नुहुन अथवा १०० वा १०३ नम्बरमा फोन गर्न हार्दिक अनुरोध गरिन्छ।’

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक गजुसिद्धी बज्राचार्यले पनि ट्याक्सीमा सवार रहँदा बढी भाडा लागेमा उजुरी गर्न सुझाएका छन्।

यसैक्रममा बिहीबार पोखरामा चार ट्याक्सी कारबाहीमा परेका छन्। भाडा धेरै लिएको पाइएकोले कारबाही गरेको ट्राफिक कार्यालय कास्कीले जनाएको छ। प्रहरी नायव निरीक्षक शिव थापाले अनियमित किसिमले भाडा लिएको जनगुनासोलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले छड्के जाँच सुरु गरेको जानकारी दिए।

प्रहरीका अनुसार ग १ ज २०५२, ४२२५, ४६९८ र ४१७६ नम्बरका ट्याक्सी कारबाहीमा परेका छन्। यातायात व्यवस्था कार्यालयले कारबाहीस्वरुप प्रत्येक ट्याक्सीबाट तीन हजार पाँच सय रुपैयाँ जरिवाना असुल गरेको छ । सर्वसाधारणको गुनासो अनुरुप कारबाही गर्दै जाने प्रशासनले जनाएको छ ।

पोखरामा गत मंगलबार आयोजित एक कार्यक्रममा वक्ताले ट्याक्सीले मनोमानी भाडा लिएकोबारे ध्यानाकर्षण गराएपछि पश्चिमाञ्चल क्षेत्रीय प्रशासक शंकर कोइरालाले उपप्रधानमन्त्री सिपी मैनालीको उपस्थित कार्यक्रममै ट्याक्सीको ठगी अन्त्य गर्ने प्रतिद्धता जनाएका थिए। उनले प्रतिबद्धता जनाएको दुर्इ दिनपछि प्रहरीले ट्याक्सी मिटरमा चल्न नमाने उजुरी गर्न अनुरोध गरेको हो।

तर, ट्याक्सी ब्यवसायीको तत्काल मिटरमा चलाउन सकिने सम्भावना नरहेको जिकिर छ। ट्याक्सी ब्यवसायी समिति कास्कीका अध्यक्ष गान्धीराज गिरीले विना पूर्वाधार एकतर्फी ढंगले प्रशासनले निर्णय गरेको भन्दै यसको प्रतिवाद गरे। उनले भने ‘व्यवसायीसँग समन्वय नगरी सूचना जारी गरिएको छ। यो कुनै हालतमा लागु हुँदैन। उनले पूर्वाधार तयारीको लागि समय पनि नदिई गरिएको निर्णय कार्यान्वयनमा आउन नसक्नेसमेत बताए। गिरीले पोखरा नगर क्षेत्रका केही स्थानमा बाहेक अन्यत्र मिटरमा चलाउन सक्ने अवस्था पनि नरहेको दाबी गरे।

उनले पोखरामा १८ किलोमिटर क्षेत्रमात्र हाइवे भएकाले सो बाहेक अन्य सडक खण्डमा मिटरमा गुड्नै नसक्ने स्पष्ट पारे।

‘१८ किमी क्षेत्रमा त टु-वे छ। त्यसैले यात्रु पाउन सकिन्छ’-उनले भने-‘पोखराका एक सय ५० किमी भित्री सडकमा मिटरमा बोक्न सकिँदैन। खाली र्फकनुपर्ने भएपछि तेल खर्च पनि उठ्दैन।’

उनले प्रशासन दादागिरी शैलीमा अघि नबढ्न चेतावनी दिँदै आफूहरु वार्ता संवादबाटै समस्या हल गर्न चाहेको बताए। मिटरमा नचल्ने ट्याक्सीलाई पाँच सयदेखि पटके कारबाहीअन्तर्गत ट्राफिक प्रहरीले बढीमा एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना गर्न सक्नेछन्। त्योभन्दा माथिल्लो कारबाही यातायात व्यवस्था कार्यालयले गर्नेछ। कार्यालयलाई बढीमा पाँच हजारसम्म जरिवाना गर्ने अधिकार छ भने त्यसपछि रुट परमिट नै खारेज गर्न सक्नेछ।

- रञ्जन अधिकारी