अफ्गानिस्तानसहित चार देशमा जान रोक

काठमाडौँ, ९ असार।सरकारले काबुल घटनामा परी मृत्यु हुने परिवारलाई राहतस्वरुप प्रतिपरिवार रु. १० लाख उपलब्ध गराउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानको काबुल घटनामा परी मुत्यु भएका १३ नेपालीका परिवारलाई प्रतिपरिवार रु. १० लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिए। काबुलमा भएको आतङ्ककारी आक्रमणमा नेपालीको मृत्यु भएको घटनालगत्तै सरकारले काबुलबाट तिनको शव बुधबार नेपाल एयरलाइन्सको एयरबस चार्टर गरी काठमाडौँ ल्याएर आफन्तलाई बुझाएको थियो। बैठकले नेपालीका लागि तत्काल अफगानिस्तान जान रोक लगाई श्रम स्वीकृति बन्द गर्ने र त्यहाँ रहेका नेपालीको सुरक्षाबारे अफगान सरकारसँग कूटनीतिक वार्तालाप गरी सुरक्षाको सुनिश्चितता गर्ने तथा असुरक्षित महसुस गरी नेपाल र्फकन चाहने नेपालीलाई आवश्यक सहयोग गर्ने निर्णय गरेको छ। त्यस्तै बैठकले लिविया, इराक र सिरिया जान पूर्ण रोक लगाउने समेत निर्णय गरेको छ। उक्त घटनाबारे अन्य समग्र पक्षको विस्तृत अध्ययन गरी प्रतिवेदन बुझाउन श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिइएको छ। त्यसैगरी लगानी बोर्डको कार्यकारी प्रमुखमा महाप्रसाद अधिकारीलाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरिएको छ।

यसैबीच, आतङ्कवादी समूहको विस्फोटनमा परी मृत्यु भएका पर्वत कार्कीनेटा गाविस वडा नं ६ का नवीनबहादुर क्षेत्री र स्याङ्जाको कोल्मा गाविस वडा नं ५ कल्स्याङ्दीका सुकबहादुर गुरुङको आज पोखरामा अन्तिम संस्कार गरिएको छ। पोखरास्थित रामघाटमा क्षेत्री र गुरुङको आ-आफ्नै जातीय संस्कारअनुसार अन्तिम संस्कार गरिएको हो ।

- रासस