काँग्रेसद्वारा जिविस कास्कीको ध्यानाकर्षण

पोखरा, ७ असार। पोखराको खानेपानीको मुख्य स्रोत मर्दीखोलाको मुहाननजिकै ढुङ्गा, गिटी, बालुवाको टेण्डर आव्हान गरिएको भन्दै काङ्ग्रेसले विरोध गरेको छ।

मुहान नजिकैबाट ढुङ्गा, गिटी, बालुवा निकाल्न दिँदा पोखरामा खानेपानीको आपूर्ति प्रभावित बन्ने र खानेपानीसमेत प्रदुषित हुने भन्दै काँग्रेस पोखरा उप-महानगरपालिका समितिले विरोध गरेको हो।

‘जिविस कास्कीले मर्दी मुहाननजिक ढुङ्गा, गिटी, बालुवा निकाल्नका लागि टेण्डर आव्हान गरेपछि जनगुनासो आइरहेको छ’-काँग्रेस पोखरा नगर सभापति बजिरमान श्रेष्ठले भने-‘सो टेण्डर रोक्नका लागि आग्रह गर्दछौं।’

जिविस कास्कीले निकालेको टेण्डरको विषयमा सोमबार नगर समितिको बैठकमा समेत छलफल भएको थियो। नगर सभापति बजिरमान श्रेष्ठ, सचिव रामजी कोइरालालगायतको टोलीले मङ्गलबार कास्कीका स्थानीय विकास अधिकारी दामोदर भण्डारीलाई भेटेर त्यस विषयमा ध्यानाकर्षण गराएका छन्।टोलीसँगको भेटमा स्थानीय विकास अधिकारी भण्डारीले खानेपानीलाई प्रभावित हुन नदिन अनुगमन गर्ने बताएका थिए। तर टोलीले भने सो टेण्डर रोक्न आग्रह गरेको काँग्रेस नगर समिति सचिव रामजी कोइरालाले बताए।

टोलीले रामघाट क्षेत्रमा समेत अव्यवस्थित रुपमा गिटी, बालुवा निकालिएको भन्दै अनुगमन गर्न जिविस कास्कीको ध्यानाकर्षण गराएको छ।

- अादर्श समाज सम्वाददाता