आत्मघाती आक्रमणमा १२ नेपालीको मृत्यु

kabul nepali

काठमाडौं, ६ असार। आत्मघाती बम आक्रमणमा परी अफ्गानिस्तानको राजधानी काबुलमा सोमबार १२ नेपालीको मृत्यु भएको छ। आक्रमणमा परी सात जना गम्भीर घाइते छन्। १२ वर्षअघि इराकमा १२ नेपाली आतंककारी आक्रमणको निशाना बनेको घाउ सेलाउन लागेको बेला सोमबार काबुलमा विपत्ति दोहोरिएको छ।

फ्रान्सेली दूतावासको सुरक्षा गार्डका रुपमा कार्यरत नेपालीमाथि सोमबार बिहान ५.४० बजे गरिएको भएको आत्मघाती आक्रमणमा निदोर्ष नेपालीले ज्यान गुमाउँदा तथा घाइते हुँदा  विश्वभर रहेका नेपाली यतिखेर स्तब्ध छन्।

बिबिसीका अनुसार नेपालीहरू ड्युटीमा जान लाग्दा उनीहरू सबार मिनीबसमा बिस्फोट भएको हो। आतंकाकारी समूह तालिवानले घटनाको जिम्मेवारी लिएको बीबीसीले जनाएको छ। विदेशी गार्ड रहेको मिनीबसमा आत्मघाती आक्रमणकारीले बस विस्फोट गराएको त्यहाँका गृहमन्त्रालयका प्रवक्ता सेदिक सिद्धकीले पुष्टि गरेका छन्। घटनाको नेपालका परराष्ट्र मन्त्रालयले समेत पुष्टि गर्दै व्यवस्थाविका संसदमा जानकारी गराएको छ। बसमा यात्रा गरिरहेका नेपाली सुरक्षा गार्डसँगै सडकमा यात्रा गरिरहेका पैदलयात्रु पनि घाइते भएको अफ्गान प्रहरीले जनाएको छ।

आत्मघाती आक्रमणमा मारिएकामध्ये १२ नेपालीको पहिचान खुलेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी १२ नेपालीको मृत्यु भएको पुष्टि भएको जनाएको हो। प्रवक्ता भरतराज पौडेलले बम आक्रमणमा परी मृत्यु भएका १४ मध्ये दुर्इ नेपाली हुन् वा अन्य देशका भन्ने यकीन हुन बाँकी रहेको बताए। घाइतेको उपचार सुनिश्चित गर्न, मृतकको शव नेपाल पठाउन र अन्य समन्वयका लागि मन्त्रालयले पाकिस्तानका लागि कार्यवाहक राजदूत तीर्थराज अर्याललाई काबुल पठाएको छ।

यसैबीच, उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले काबुलमा भएको घटनामा परेर नेपालीको ज्यान गएको संसदलाई जानकारी गराएका छन्।  प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त घटनाबाट आफू अत्यन्त मर्माहत र दुःखित भएको बताएका छन्। त्यस्तै, विभिन्न राजनीतिक दलले पनि विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेका छन्।

- अादर्श समाज सम्वाददाता