कामना विकास बैंकको एकीकृत कारोबार सुरु

'६० प्रतिशत नेपालीले कमाएको सम्पत्ति हामीले बैंकसम्म ल्याउन सकेका छैनौं’-नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल भन्छन्-'सबै रकम बैंकमा जम्मा हुन सक्यो भने ठूला आयोजना पनि हामी आफै सञ्चालन गर्न सक्ने वातावरण बन्छ।’

पोखरा, ६ असार। पोखरामा प्रधान कार्यालय रहेका कामना विकास बैंक र कास्की फाइनान्स मर्ज भएपछि एकीकृत कारोबार सुरु भएको छ।

नेपाल सरकारले बैंक तथा वित्तीय संस्थाको मर्जर अभियान सुरु गरेपछि यी दुर्इ बित्तीय कम्पनीबीच मर्जर भएको हो। संयुक्त कारोबारको सोमबार एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उद्घाटन गरे। नेपालले वित्तीय संस्थाहरूको संस्थागत विकासका लागि र दीगोपनाका लागि मर्जर अभियान उपयुक्त विकल्प भएको बताए।

पैसा संवेदनशील विषय भएकाले जथाभावी चलाउन नहुने भन्दै उनले बैंकले लगानी गरेका साना आयोजना डुबे पनि बैंक नडुब्ने वातावरण सिर्जना हुनुपर्नेमा जोड दिए। ‘बैंक तथा वित्तीय संस्थाको पुँजी बृद्धि गरेर स्थायित्वका लागि हामीले मर्जर अभियान चलाएका हौं’-उनले भने-‘बैंक सवल भएमात्रै जनताको निक्षेप सुरक्षित हुन सक्छ। यो दायित्व सरकारको हो।’

उनले वित्तीय संस्थाहरू पूरै नीजि क्षेत्र नभई जनताको विश्वास भएको बताए। लघुवित्त र बाणिज्य बैंक फरक भए पनि कारोबार एउटै प्रक्रृतिको गर्ने गरेकाले देशको आर्थिक विकास सोचे अनुसार हुन नसकेको भन्दै गभर्नर नेपालले बाणिज्य बैंकहरूको पुँजी बृद्धि गरेर ठूला आयोजनामा लगानी गर्न उत्प्ररित गरिने जानकारी दिए।

वित्तीय क्षेत्र बलियो भने देशका ठूला आयोजना पनि आँफै बनाउन सकिने उनको भनाइ छ। ४० प्रतिशतमात्रै बैंकको पहुँचमा रहेको भन्दै उनले बाँकी ६० प्रतिशतलाई पनि बैंक तथा वित्तीय पहुँचमा पुर्‍याउन अभियान हुनुपर्ने बताए। ‘६० प्रतिशत नेपालीले कमाएको सम्पत्ति हामीले बैंकसम्म ल्याउन सकेका छैनौं’-उनी भन्छन्-‘सबै रकम बैंकमा जम्मा हुन सक्यो भने ठूला आयोजना पनि हामी आफै सञ्चालन गर्न सक्ने वातावरण बन्छ।’

कार्यक्रममा पूर्व मन्त्री हरि पाण्डे, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीलगायतले सरकारले व्यवसाय मैत्री मौद्रिक नीति पारित गरेर व्यवसाय प्रवद्धनमा जोड दिनुपर्ने सुझाव दिए।

मर्जरपछि कामना विकास बैंक राष्ट्रिय स्तरको विकास बैंक बनेको छ। बैंकको हाल ६६ करोड १६ लाख चुक्ता पुँजी पुगेको छ भने करिब सात अर्ब निक्षेप सङ्कलन गरेर छ अर्ब कर्जा लगानी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले जानकारी दिए।

मर्जरपछि बैंकले विभिन्न जिल्लाका २१ शाखाबाट सेवा प्रवाह गर्नेछ। तत्काल काठमाण्डौं र अन्य जिल्लामा पनि शाखा स्थापनाको तयारी भइरहेको अधिकारीको भनाइ छ। बैंक सञ्चालक समिति अध्यक्ष राजेन्द्रनिधि कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नायब कार्यकारी अधिकृत उमेशकुमार आचार्यले गरेका थिए।

- अादर्श समाज सम्वाददाता