पश्चिमाञ्चलस्तरीय दुर्इ दिने खाद्य मेलाको तयारी

लमजुङ, ३२ जेठ। लमजुङको सदरमुकाम बेसीशहरमा पश्चिमाञ्चलस्तरीय २ दिने खाद्य मेलाको आयोजना गर्ने तयारी गरिएको छ। आगामी असार ३ र ४ गतेका दिन सो मेला गरिने भएको पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाको आयोजना तथा लमजुङ उद्योग वाणिज्य संघको सहआयोजनामा सो २ दिने मेला गरिने भएको संघका अध्यक्ष रामकुमार श्रेष्ठले पत्रकारहरूलाई जानकारी दिए। उनका अनुसार मेलामा १६ जिल्लाका स्थानीयस्तरमा उत्पादन हुने स्वास्थ्यका दृष्टिले उपयुक्त तर कम महत्व दिइएका खाद्य वस्तुको प्रदर्शन तथा तिनको महत्व र तिनलाई खानाको विभिन्न परिकार के कसरी बनाउने भन्ने बारेमा जानकारी दिइने छ।

खाद्य महोत्सव सफल बनाउनका लागि लमजुङ उद्योग वाणिज्य संघका विभिन्न पदाधिकारीहरु संयोजक रहेको ९ वटा उपसमिति गठन गरी तयारीको काम तदारुकताका साथ भैरहेको पत्रकारहरूलाई जानकारी दिइएको छ।

‘परम्परागत स्थानीय पोषिला खाद्य पदार्थहरूको प्रवर्द्धन, पौष्टिक आहारका लागि खानेवानीमा परिवर्तन’ भन्ने नाराका साथ आयोजना गरिन लागेको खाद्य मेलामा स्थानीयस्तरका महत्व नपाएका र लोप हुने चरणमा पुगेका खानाहरू विशेष प्रदर्शन गरिने भएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाका प्रमुख किशोर खत्रीले बताए। उनका अनुसार नेपालमै यो मेला पहिलो पटक र गरिने लागेको हो। चालु आव मै यसअघि ओखलढुंगामा सम्पन्न भएको सिन्धुलीमा चलिरहेको र यो तेस्रो र चालुआवको अन्तिम मेला हो खत्रीले भने। स्थानीय होमस्टेका लागि समेत मेलाले विशेष उपयोगी हुने अपेक्षा गरिएको लमजुङ उद्योग वाणिज्य संघका महासचिव कृष्ण लामिछानेले बताए। उनका अनुसार मेलामा स्टल र प्रवेश निःशुल्क रहेको छ। बेसीशहरको फूलबारी मञ्चमा आयोजना गरिने भेलामा करिव ३५ वटा स्टल रहने र २० हजारले अवलोकन गर्ने लक्ष्य राखिएको लमजुङ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष मृगेन्द्र पोखरेलले बताए।

- अादर्श समाज सम्वाददाता