बस दुर्घटनामा थप दुर्इको मृत्यु

लमजुङ, ७ जेठ। लमजुङमा बिहीबार भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ११ पुगेको छ।

दुर्घटना स्थलमा नौ जनाको मृत्यु भएको थियो। दुर्इ जनाको उपचारका क्रममा मृत्यु भएको छ। अस्पतालमा मृत्यु हुनेमा एक तीन महिनाकी बालिकासमेत छिन्।

दुर्घटनामा जिताका ८० वर्षीया चिनुमाया गुरुङ, ६० वर्षीय रामकृष्ण गुरुङ उनकी श्रीमती ४५ वर्षीया मिनकुमारी गुरुङ र ३५ वर्षीय राजीव गुरुङको मृत्यु भएको थियो। दुर्घटनामा ४५ वर्षीय शेरबहादुर खवास, ४० वर्षीया रमा गुरुङ, ३० वर्षीय गणेश गुरुङ, १८ वर्षीया सविना गुरुङ र ४५ वर्षीय नारायण थापाले पनि ज्यान गुमाएका छन्।

यसैगरी, १६ वर्षीय सागर थापाको उपचारका लागि पोखरा स्थित मणिपाल अस्पतालमा पुर्‍याइएको भएपछि चिकित्सकले मृत घोषित गरेका थिए। सूर्य खबासकी तीन महिनाकी छोरी रेनुका खबासको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये ४२ वर्षीय नेत्रबहादुर गुरुङको अवस्था गम्भीर छ। घाइतेमा बसका सहचालक सुन्दरबजार नपा कुन्छा निवासी वर्ष २२ का सन्तोष बसौला, ७१ वर्षीया लिलामाया खवास, ६१ वर्षीय टेकबहादुर खवास, ४७ वर्षीय विष्णु गुरुङ, ४० वर्षीया सम्झना थापा, २४ वर्षीया सुकमित गुरुङ र २३ वर्षीय सुरेश खवास  रहेको सोतीपसल प्रहरी चौकाका प्रमुख गीतबहादुर थापाले बताए।

नारायणगढबाट लमजुङको जिताकोट हिँडेको ना ६ ख ४१३६ नम्बरको यात्रुबाहक बस मध्यनेपाल नगरपालिका-५ को तान्द्राङ र जिता गाउँको सीमामा रहेको ठूलो पहरा भन्ने स्थानमा दुर्घटना भएको थियो। दुर्घटना स्थल जिल्ला सदरमुकाम बेसीसहरबाट २५ किमीमा पर्छ।

- अादर्श समाज सम्वाददाता