श्रीलङ्कामा बाढी, पहिरोबाट ६३ को मृत्यु

कोलोम्बो, ७ जेठ। श्रीलङ्काको कैयौ जिल्लामा जारी भारी वर्षा र त्यसका कारण आएको बाढी, पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ६३ पुगेको छ।

श्रीलङ्काली सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारीअनुसार यस पहिरोमा परी ६३ को मृत्यु हुनुको साथै सयौँ बेपत्ता भएका छन्। शुक्रबार श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार उक्त बाढीका कारण चार लाख ५० हजार बढी व्यक्ति नराम्ररी प्रभावित भएका छन्।

यीमध्ये कैयौँ व्यक्ति घरबारबिहीन भएका छन्। विपद् व्यवस्थापन विभागले उद्वारको कार्य जारी रहेको जनाएको छ।  श्रीलङ्कामा गएको सोमबारबाट भारी वर्षा सुरु भएको त्यसपछिको बाढी पहिरोको कारण ती व्यक्तिहरुले ज्यान गुमाएका हुन्।

श्रीलङ्काको मध्य जिल्ला केगाल्लेमा भारी वर्षापछि दुर्इ इलाकामा गएको भीषण पहिरोको कारण  ३४ व्यक्तिको मृत्यु भएको छ। सो जिल्लामा मङ्गलबार र बुधबार पहिरो गएको थियो। त्यसैगरी, आरनायके जिल्लामा यस प्रकोपबाट १६ व्यक्तिको मृत्यु भएको जनाइएको छ।

बाढी र पहिरो प्रभावित क्षेत्रमा ठूलो सङ्ख्यामा उद्धारकर्मी खटाइएको छ। उनीहरूले केहीलाई मात्र तत्काल उद्धार गरेका थिए भने, अझै सयौं’ व्यक्ति बेपत्ता रहेका हुनाले मृतकका संङ्ख्या  बढ्नसक्ने अनुमान गरिएको छ। सो पहिरो प्रभावित इलाकानजिकै रहेका बासिन्दालाई प्रहरीले अन्यत्रै सुरक्षित इलाकामा सारेको पनि बताइएको छ।

- रासस