बग्दादमा विस्फोटमा ६९ को मृत्यु

baghdad attackबग्दाद, ५ जेठ। इराकको राजधानी बग्दाद र छिमेकी इलाकमा अवस्थित बजार र रेष्टुराँमा मङ्गलबार भएको शृखलाबद्ध बम आक्रमणमा परी कम्तीमा ६९ व्यक्तिको मृत्यु भएको छ।

चार छुट्टाछुट्टै इलाकामा आत्मघाती बम विस्फोटलगायतको बम आक्रमणहरु भएको थियो।

उक्त विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन्। मङ्गलबार अपराहृन सो विस्फोटहरू भएका थिए। सिया मुसलमान समुदायको बलियो प्रभाव रहेको इलाकाहरुमा गरिएको यस आक्रमणको इस्लामिक स्टेट -आइएस) लडाकु समूहले आफ्नो बेभसाइटमार्फत् जिम्मा लिएको छ। मारिनेहरूमा अधिकांश सर्वसाधारण छन्। उनीहरूलाई आईएसका लडाकुले निशाना बनाएको समाचारमा उल्लेख छ। राजधानीमा आईएसका लडाकूले व्यस्त बजारमा आफैमाथि बम विस्फोट गराएर आत्मघाती हमला गरेका जनाइएको छ। इराकको राजधानी र यसको नजिकका नगरहरूमा पछिल्लो समयमा हत्याको शृङ्खला बढेको छ।

आत्मघाती हमलाकारी महिला रहेको इराकी प्रहरीले जानकारी दिएको थियो। इराकमा पछिल्लो समयमा आईएसले हमला गर्ने गरेको छ। इराकमा पछिल्लो समयमा फेरि हिंसा भड्किएको छ। इराकको राजधानी सहर बग्दाद र वरपरका सहरहरुमा गत हप्ता भएको आतङ्ककारी आक्रमणहरुमा दुर्इ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।

केही समययतादेखि त्यहाँ हिंसा थप भड्किएको समाचारमा जनाइएको छ। गत शनिबार भएको ट्रकबम विस्फोटमा परी २४ व्यक्तिको मृत्यु हुनको साथै अन्य ३८ जना गम्भीररूपमा घाइते भएका थिए। सन् २०१४ को जुन महिनादेखि इराकको उत्तरी र पश्चिमी क्षेत्रमा इस्लामिक स्टेटका लडाकूहरूले कब्जा जमाएपछि इराक पुनः एक पटक हिंसाको चपेटामा फसेको छ।

- रासस