तीन मोटरेबल पुल बन्दै

पर्वत, ५ जेठ। चालु आर्थिक वर्षमा पर्वतमा तीन मोटरेवल पुल निर्माणाधीन अवस्थामा छन्।

जिल्लाका सबै गाविस र नगरपालिका सडक सञ्जालमा जोडिएता पनि बाह्रैमास सवारी सञ्चालन गर्न भने नसकिने अवस्था छ। सवारी सञ्चालनमा निर्माणाधीन पुलले सहजता ल्याउने अपेक्षा गरिएको छ। जिल्ला प्राविधिक कार्यालय पर्वतले दिएको जानकारी अनुसार पर्वतका जहरेखोला, लुङ्दी खोला र मल्याङ्ग्दीखोलामा तीन मोटरेबल पुल र पाँच झोलुङ्गे पुल निर्माण कार्यले तीव्रता पाएको छ।

मोटरेबल तथा झोलुङ्गे पुल गरी झण्डै पाँच करोड लगानीमा निर्माणाधीन मोटरेबल पुलहरूले पर्वतका दर्जन बढी गाविस र स्याङ्जा तथा म्याग्दीका केही गाविसका बासिन्दा लाभान्वित हुने प्रमुख जिल्ला इन्जिनियर महेन्द्रबहादुर बानियाँले जानकारी दिए।

जिल्लाको जहरेखोला स्थित जहरे मोटरेबल पुल, मल्याङ्दी खोला स्थित मल्याङ्दी खोला मोटरेबल पुल र मिलनचोकको लुङ्दीखोला मोटरेबल पुल निर्माणसम्पन्न हुँदा उक्त क्षेत्रका वासिन्दा प्रत्यक्ष लाभान्वित हुने बानियाँले बताए।

मल्याङ्दी खोलाका मोटरेबल पुलको निर्माण कार्य रसुवा कन्स्ट्रक्सनमार्फत् अगाडि बढिरहेको छ भने लुग्दी खोलाको मोटरेबल पुलको मृत सञ्जीवनी कन्स्ट्रक्सनले जिम्मा लिएको छ।

जिविसका अनुसार लुग्दी र मल्याङ्दी दुबै खोलामा निमार्णाधीन मोटरेवल पुलको प्रतिपुल एक  करोड ३३ लाख ६६ हजार आठ सय ८१ रुपैयाँमा सम्झौता भएका छन्।

जिल्ला विकास समिति पर्वतले पुल निर्माण कार्यलाई तीव्रता दिएको झोलुङ्गे पुलमध्ये सालिजा-९ को नियाल्नीघाट, शंकरपोखरी, ठानामौला-९ को लमायखोला, भुकताङ्ले ६ र ४, भंगरा-ठानामौला ९ को खहरेखोला र सरौंखोला-हुवासको घनघनेघाटको झोलुङ्गे पुल यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

- अादर्श समाज सम्वाददाता