बजारले उत्साह थप्यो

लेखनाथ, २९ बैशाख। नेपालको पहाडी भेगमा पाइने कफी भनेपछि विदेशीहरू हुरुक्क हुन्छन्। यो कुरा लेखनाथ-११, पचभैयाँका अर्जुन लम्साललाई २०५२ सम्म थाहा थिएन।

coffe

२०५२ सालमा एक अमेरिकी पर्यटकले लम्सालको घरमा आएर बारीको कान्लामा भएको कफीको बोटमा फलेको कफी देखाउँदै कफी बनाएर खान आग्रह गरे। उनले लम्साललाई कफी बनाउने तरिकासमेत सिकाए। त्यही सिकाइ नै लम्सालको जीवनका लागि मार्गर्दर्शन बन्यो।

२०५० सालमा केयर नेपालले भूक्षय रोकथाम र माटो संरक्षणका लागि दिएको कफीको विरुवा हुकेर फल दिने भएपछि विदेशीले दिएको सुझव नै आफ्नो जीवनका लागि सहयोगी सिद्ध भएको लम्साल सुनाउँछन्। कफीप्रति विदेशीको ठूलो मोहले उनमा पनि केही त गरौं भन्ने सोच उत्पन्न भयो। त्यही सोचलाई सार्थक रुप दिन २०५२ सालमा जिल्ला कफी उत्पादक संघमार्फत् उनले व्यवसायिक कफी उत्पादन अघि बढाए। अहिले कास्की कफी किसानहरू माग बढ्दा हषिर्त र उत्साहित छन्।

उनले स्थानीय स्तरमा कफी उत्पादनलाई बढावा दिँदै कफी पाठशाला सञ्चालन गरी पचभैयाँलाई कफी गाँउका रुपमा चिनाउने उद्देश्यल लिएका छन्। यहाँ रहेका किसानको सहयोगमा विस २०६४ देखि उनले पोखरा अर्गानिक एग्रो प्रोडक्सन उद्योगबाट माछापुच्छ्रे्र फ्याङ बर्ड कफी उत्पादन गर्दै आएका छन्।

कास्कीको हकमा पहिलो कफी उद्योगका रुपमा दर्ता भएको उक्त उद्योगबाट उत्पादन भएको कफी अहिले नेपाली बजारमामात्र होइन, अमेरिका, जापान, बेलायत, न्युजिल्याण्डलगायतका देशका डिपार्टमेण्टल स्टोरहरूबाट पनि बिक्री हुन्छ। नेपालमा उत्पादित कफीको माग विदेशमा बढ्न थालेपछि उनले मासिक रुपमा तीन सय केजी कफी कागो गरी विदेश पठाउने गरेका छन्।

नेपाल घुम्न आउने पर्यटनले पनि नेपालको चिनोका रुपमा कफी लैजान थालेपछि नेपाली बजारमा मात्र होइन, विदेशीको चुल्हो-चुल्होमा पनि नेपाली कफी पाक्न पाक्न थालेको छ। ‘कफी उत्पादन गर्ने हो भने बजारीकरणको कुनै समस्या छ्र्रैन’-लम्सालले भने-’कफी कसरी बेच्ने हो भन्दा पनि उत्पादन कसरी बढाउने भन्नेतर्फ सोच्नुपर्ने बेला आएको छ।’

अर्का कफी कृषक तथा पचभैया कफी सहकारीका अध्यक्ष तारामणि घिमिरे नेपालमा कफीको विकास गर्न सामुदायिक वनलाई प्रयोग गर्नुपर्ने विचार राख्छन्। ‘यसो गरेमा खेर गएको जमिनबाट प्रशस्त आम्दानी लिन सकिन्छ’-उनले भने। पचभैयाँमा वाषिर्क दुर्इ हजार केजी ताजा चेरी र करिब तीन सय केजी पार्चमेण्ट कफी उत्पादन हुँदै आएको उनले जानकारी दिए।

जिल्ला कफी उत्पादन संघका सल्लाहकार नरनारायण थापाले कफीका विरुवामा देखिएको गभा किराको प्रकोप र सरकारले कफी उत्पादन क्षेत्रमा देखाएको कम चासोका कारण विगत दुर्इ वर्षको तुलनामा कफीको उत्पादन केही घटेको बताए। ‘आगामी दिनमा प्रति घरमा ५० बोट  कफीका विरुवा लगाउने अभियानका साथ लेखनाथको पचभैयाँमा कफी नसरी स्थापना गरी नयाँ सोचका साथ नेपाललाई कफीको देश बनाउने अभियानमा जुटेका छौ’-उनले भने।

कफीको बोटलाई केही ओसिलो, छहारीयुक्त जमिन चाहिने र कफीको बारीभित्र अन्य वाली अदुवा, हलेदो, पिँडालु, सख्खर, तरुलसमेत लगाउन सकिन्छ।

- भीमपाणि बराल