नामार्जुङ पूर्ण खोप सुनिश्चित

namarjung

पोखरा, २९ बैशाख। कास्कीको नामार्जुङलाई पूर्ण खोप सुनिश्चित गाविस घोषणा गरिएको छ।

ताङतिङमा विशेष कार्यक्रमबीच जिल्ला जनस्वास्थ्य प्रमुख सागरप्रसाद घिमिरेले पूर्ण खोप सुनिश्चित गाविस घोषणा गरेका हुन्। गाविसमा रहेका १२ देखि २३ महिना उमेर समूहका १९ बालबालिकालाई एक वर्षभित्र लगाउनुपर्ने खोपको मात्रा पूरा गरेपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो। घिमिरेले घोषणामा भन्दा यसको निरन्तरतामा ध्यान दिनुपर्ने बताए। धेरै कार्यक्रम घोषणापछि पुरानै अवस्थामा फर्किएको भन्दै उनले निरन्तर कार्यक्रम नगरेसम्म सकारात्मक प्रभाव नदेखिने बताए। ‘बालबालिकालाई रोग लाग्नबाट बचाउन अनिवार्य खोप लगाउनुपर्छ’-उनले भने-’यसका लागि स्थानीय बासिन्दा सचेत हुनुपर्छ, तपाईहरूले सहयोग गरेमात्र सरकारको लक्ष्य पूरा हुन्छ।’

कार्यक्रममा जिल्ला खोप अधिकृत एकनारायण लम्सालले पूर्ण खोप घोषणा अभियान र खोपको महत्वबारेमा जानकारी गराएका थिए।

सो अवसरमा कास्कीका जिल्ला शासन विज्ञ कृष्ण अवस्थी, नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति बृजमान गुरुङलगायतले पूर्ण खोप सुनिश्चित घोषणापछि नामार्जुङको नयाँ पहिचान स्थापित भएको बताए।

स्थानीय हिमालय मिलन माविका प्रधानध्यापक प्रकाश गुरुङले खोप नपाएर धेरै बालबालिकाले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य भएको बताए।

स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद पनेरुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकी इन्चार्ज तारकराज सापकोटाले गरेका थिए।

कार्यक्रममा गाविसमा रहेको स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाता खुद्धजंग गुरुङलाई सम्मान गरिएको थियो भने गाविसका महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई कदरपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा हिमालय मिलन माविका विद्यार्थीले साँस्कृतिक प्रस्तुति राखेका थिए। जिल्ला स्वास्थ्य कार्यालय र नामार्जुङ स्वास्थ्य चौकी व्यवस्थापन समितिले आयोजना गरेको घोषणा कार्यक्रममा सहभागी स्थानीयवासीले आगामी दिनमा जन्मने बालबालिकालाई पनि अनिवार्य खोप लगाउने प्रतिबद्धता जनाएका छन्। नामार्जुङसहित जिल्लाका २३ गाविसलाई पूर्ण खोप सुनिश्चित गाविस घोषणा गरिसकिएको छ।

- अादर्श समाज सम्वाददाता