मनकामनाका अग्निपीडितलाई सहयोग

पोखरा, २९ पोखरा। बैशाख १८ गते आगलागीका कारण पूर्ण रुपमा क्षति पुगेको स्याङ्जाको मनकामना गाविसस्थित लामडाँडा गाउँका २० परिवारलाई राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानले सहयोग गरेको छ।

syangja rahat

गण्डकी अञ्चल कार्यसमितिको नेतृत्वमा गएको टोलीले अग्नीपीडितलाई जनही पाँच हजारका दरले एक लाख रुपैयाँ हस्तान्तरण गरेको हो।

पोखराका विभिन्न व्यक्ति र संघ, संस्थाबाट सङ्कलन गरिएको उक्त रकम वरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुलीले पीडितलाई हस्तान्तरण गरे। पराजुलीले लोक दोहोरी कलाकारले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजको सुखदुःखमा गरेको बताए। राहत वितरणका लागि राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान जिल्ला कार्यसमिति कास्की र पोखरा सङ्गीत समूहले पनि सहयोग गरेको थियो।

कार्यक्रम प्रतिष्ठान गण्डकीका वरिष्ठ उपाध्यक्ष शंकरविरही गुरुङको संयोजकत्वमा भएको थियो। संयोजक गुरुङले अहिलेको सहयोग पहिलो चरणको सहयोगमात्र भएको बताए।

राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष जीवन दाहालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका महासचिव घनश्याम रिजालले गरेका थिए।

- एजेन्सी