म्याग्दीमा जिप दुर्घटना

पाँचको मृत्यु, पाँच घाइते

Jeep-Accident-Photo-1

पोखरा, २७ बैशाख। म्याग्दीको निस्कोटमा सोमबार दिउँसो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन्।

दरबाङबाट निस्कोट जाँदै गरेको ग१ज ५१०६ नंको बोलेरो जिप निस्कोट-४ कोदालीवाङको भलाबिसौनाको भिरबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पाँच जनाको घटनास्थलमै मृत्यु भएको र पाँच जना घाइतेलाई उपचारका लागि एम्बुलेन्समा राखेर बेनी ल्याउँदै गरिएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताए।

मृतक र घाइतेको पहिचान खुलेको छैन। घाइते हुनेमा तीन जना महिला र दुर्इ जना पुरुष छन्।

स्थानीय बासिन्दाले दुर्घटनाको जानकारी गराएपछि इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी टोली घटनास्थल पुगेर शव सङ्कलन तथा उद्धार गर्न सुरु गरेको छ।

घटनास्थलको प्रकृति हेर्दा घुम्तीमा जिप घुमाउन नसकेर पछाडितिर करिब एक सय मिटर तल खसेको घटनास्थलमा रहेका स्थानीय बासिन्दा घनबहादुर पुनले जानकारी दिए।

- अादर्श समाज सम्वाददाता