पर्यटन प्रवर्द्धनका नाममा पारिवारिक भ्रमण

पर्वत, २७ बैशाख। पर्यटन प्रवर्द्धनका निमित्त जिल्ला विकास समिति पर्वतले वाषिर्क लाखौँ बजेट विनियोजन गरे पनि त्यसको सदुपयोग हुन सकेको छैन।

प्रत्येक वर्ष २५ देखि ३० लाखको हाराहारीमा पर्यटनको लागि रकम छुट्याइने गरे पनि पर्यटन प्रवर्द्धनको लागि भने खर्च हुने गरेको देखिँदैन। हालै पर्यटनका लागि नेपाल पर्यटन बोर्ड, जिल्ला विकास समिति पर्वत, जिल्ला भू संरक्षण कार्यालय र केही संस्थाबाट जिल्लाको पर्यटन प्रवर्द्धनका लागि प्राप्त भएको लाखौं रुपियाँ केही सिमित व्यक्तिले कालीगण्डकीमा र्‍याफ्टिङ गरेर सकेका छन्।

जिल्लाका केही राजनीतिक दल, जिल्ला विकास समतिका स्थानीय विकास अधिकारी, जिल्ला विकास समितिका पर्यटन हेर्ने कर्मचारी र उनीहरूका परिवार, उद्योग वाणिज्य संघका केही पदाधिकारी र पर्यटनसम्बन्धी गैरसरकारी संस्था पर्वत पर्यटन प्रवर्द्धन केन्द्रका पदाधिकारी, उनीहरूका आफन्तलगायतले जिल्लामा पर्यटन प्रवर्द्धनका नाउँमा रकम दुरुपयोग गरेका छन्। जलयात्रामा ३४ जनाले दुर्इ दिनसम्म जलयात्रामा एक जनाको खानाबाहेक १० हजारका दरले तीन लाख ४० हजार रुपियाँ  खर्च गरेको जनाइएको छ। कालीगण्डकी नदीमा प्रत्येक वर्ष सयौं विदेशी पर्यटकले साहासिक जलयात्रा गर्ने गरेको भए पनि कति पर्यटकले यात्रा गर्छन् भन्ने कुनै निकायसँग तथ्याङ्क छैन तर प्रवर्द्धन भन्दै विगत तीन वर्षदेखि डेढ करोड रुपियाँ खर्च भइसकेको छ।

‘कालीगण्डकी नदीका धेरै ठाँउमा ठूला-ठूला ढुंगाहरुका कारण बीच-बीचमा झरेर जानुपर्ने भएकाले ती ढुङ्गा फुटाउन सकेको भए सहज हुने थियो’-स्थानीय देव रेग्मीले भने- ‘त्यसका साथै केही ठाँउमा बस्ने व्यवस्था गर्नु जरुरी छ।’

विशेष गरी कालीगण्डकी नदीमा भएका आकर्षक दृश्य तथा छालले गर्दा विदेशी पर्यटकको मुख्य केन्द्र मानिने भए पनि भौतिक पूर्वाधारको विकास हुन नसक्दा अपेक्षाकृत फाइदा हुन सकेको छैन। ‘कालिगण्डकीको र्‍याफ्टिङलाई व्यवस्थित बनाउन कुनै पनि निकायले प्रभावकारी काम गर्न सकेको छैन तर प्रत्येक वर्ष यसरी नै रकम सकिने गरेको छ’-अर्का स्थानीय व्यवसायी राजु पौडेलले गुनासो गरे।

गर्मी मौसम सुरु भएसँगै अहिले कालीगण्डकी नदीमा जलयात्रामा पर्यटकको घुइँचो लाग्न सुरु भइसकेको भए पनि जलयात्राका विषयमा जिल्लाका कुनै निकायले ध्यान दिएका छैनन् तर प्रत्येक वर्ष त्यही निहुँमा पैसा सकिने गरेको छ। यसरी भएको अनियमिततासमेत कसैले खोजी गरेको पाइँदैन।

यता, वर्षेनि लाखौं रुपियाँ खर्च गर्ने जिल्ला विकास समितिले प्रवर्द्धनबारेमा कुनै काम गरेको छैन। स्थानीय विकास अधिकारी युवराज पौडेल यस बारेमा केही थाहा नभएको बताउँछन्। ‘मलाई यस विषयमा केही थाहा छैन’-उनले भने।

उता, पर्यटन प्रवर्द्धन केन्द्र पर्वतका अध्यक्ष शिव शर्माले भने अघिल्ला दुर्इ वर्षमा जिविसले विनियोजन गरेको सबै रकम फ्रिज भएको बताए। कालीगण्डकीमा विदेशी पर्यटकहरू मात्र आउने तर स्थानीय तथा आन्तरिक पर्यटकमा भने कालीगण्डकी नदीको र्‍याफ्टिङ असुरक्षित र डरलाग्दो छ भन्ने मानसिक भ्रम हटाउनका लागि सम्बन्धित सबै निकायलाई समेटेर आन्तरिक भ्रमण गरिएको बताए।

‘पर्वतभन्दा बाहिरका व्यक्तिले कालीगण्डकी नदीका नाममा करौडौँको आम्दानी गरेका छन्, त्यो आम्दानी पर्वतमा भित्र्याउनका लागि तथा कालीगण्डकीमा र्‍याफ्टिङको व्यवसायिकताबारेमा अध्ययनका लागि भ्रमण गरिएको हो’-उनले भने-’पर्वतमा भएको कालीगण्डकीको सदुपयोगबाट पर्वतको नै आर्थिक विकास गर्नुपर्छ, यसमा सबैको सहयोग आवश्यकता छ।’

- अादर्श समाज सम्वाददाता