शैक्षिक प्रमाणपत्रको आधारमा ऋण कार्यक्रमको स्वागत

पोखरा, २७ बैशाख। शैक्षिक प्रमाणपत्रको आधारमा बेरोजगार युवालाई ऋण उपलब्ध गराउने माग सरकारको नीति तथा कार्यक्रममा परेपछि सत्तारुढ एमाले निकट अनेरास्ववियुले यसको स्वागत गरेको छ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखी परियोजना प्रस्तावको आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने उल्लेख छ।

त्यसको स्वागतमा पृथ्वीनारायण क्याम्पस इकाइ कमिटीले सोमबार साँझ क्याम्पस गेटअगाडि मैनबत्ती प्रज्ज्वलन गर्‍यो।

विद्यार्थीले नीति तथा कार्यक्रमको स्वागत र सम्मान गर्दै व्यवस्थित संयन्त्र बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

अनेरास्ववियुका केन्द्रीय सदस्य भरतमान कोने गुरुङले आफूहरूको माग सरकारले नीति तथा कार्यक्रममा समेटेपछि स्वागत गरेको जनाए। उनले अब ड्रि्री पढेर श्रम गर्न विदेशिन नपर्ने बताए।

अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस इकाइ अध्यक्ष राजन शर्मा पराजुलीले २१ औं महाधिवेशनपछि किशोरविक्रम मल्लको अध्यक्षतामा पहिलो बैठकले यो माग उठाएको र अहिले पनि अध्यक्ष नवीना लामासहितको टोलीले राष्ट्रिय योजना आयोग, अर्थ मन्त्री, प्रधानमन्त्री समक्ष ध्यानाकर्षण गराएकाले विद्यार्थी हितमा कार्यक्रम आएको दाबी गरे।

सरकारले आमागी वर्षदेखि २०७३/०७४ को बजेटमार्फत् शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत दरमा ऋण उपलब्ध गराउने आइतबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ।

- अादर्श समाज सम्वाददाता