काङ्ग्रेस असफल हुँदैन : लेखक

पोखरा, २५ बैशाख। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री नबन्दैमा काङ्ग्रेस असफल नभएको दाबी गरेका छन्।

नेपाली काङ्ग्रेस क्षेत्र नं ३ कास्कीले पोखरामा शनिबार आयोजना गरेको ‘के गर्दै छ काङ्ग्रेस, के गर्नुपर्छ काङ्ग्रेसले’ विषयक अन्तक्रिर्यामा बोल्दै उनले यस्तो बताएका हुन्। ‘राजनीतिक अभ्यासमा सफलता, असफलता भइरहन्छ’-उनले भने-यो विषयलाई पनि त्यसरी नै बुझ्नुपर्छ।’

सत्ता साझेदार दलको नेताले यो सरकारले खत्तम गर्‍यो, यसमा बस्न नसक्ने भएँ भन्दै काङ्ग्रेससँग आएपछि काङ्ग्रेसका अगाडि दुर्इ विकल्प हुँदा उनलाई प्रधानमन्त्री बन्नुस् भन्नु परेको लेखकले उल्लेख गरे। ‘कि यो सरकारले ठीकै गरेको छ भन्नुपथ्यो, नभए उनलाई नै प्रधानमन्त्री बन्नुस्, भन्नुपथ्यो’-उनले भने-’यो सरकारले ठीक गरेको छ भन्न सकेनौँ, त्यसैले दाहाललाई नै प्रधानमन्त्री बन्नुस् भन्यौं।’

उनले वर्तमान सरकार असफल भइसकेको र मुलुकलाई पनि असफल बनाएको आरोप लगाए। नयाँ विषय सुरु गर्न नसकेको, असन्तुष्ट पक्षलाई सम्बोधन गर्न नसकेको र संविधान कार्यान्वयन गर्न नसकेका कारण सरकार असफल भएको उनको भनाइ छ।

उनले सरकारले कालोबजारियालाई संरक्षण गरेको समेतआरोप लगाए। सरकारकै पहलमा कालोबजारी गर्नेलाई दिइने १० वर्षको कैद सजाय एक वर्षमा झारिएको उनको दाबी छ।

उनले काङ्ग्रेस कार्यकर्तामार्फत् जनतामा पुग्नुपर्ने र नेता, कार्यकर्तामा पुग्नुपर्ने उल्लेख गरे। ‘काङ्ग्रेसबाहिर पनि ठूलो संसार छ’-उनले भने-’जनतासँग जोडिनका लागि सर्म्पर्क, संवाद र सेवाबाट जानुपर्छ।’

नेता लेखकले काङ्ग्रेस नेतृत्वमा संविधान बनेका कारण कसैसँग टाउको निहुर्‍याउनुपर्ने अवस्था नरहेको बताए। नयाँ संविधान विश्वका कुनै पनि लोकतान्त्रिक संविधानभन्दा कमजोर रहेको उनको भनाइ छ।

सांसद शारदा पौडेलले एकजुट भएर पार्टीको विकास र विस्तारमा जुट्नुपर्ने समय आएको बताइन्।

काङ्ग्रेस नेता सोभियतबहादुर अधिकारीले पार्टीले पुराना कार्यकर्ता खोजी गरी उनीहरूलाई अघि बढाउनुपर्ने आवश्यकता औल्याए।

महाधिवेशन प्रतिनिधि देवराज चालिसेले पार्टीका विकास भएका कार्यकर्ता परिचालन गर्नुपर्ने र नयाँ कार्यकर्ता उत्पादनमा ध्यान दिनुपर्ने बताए। पूर्व आमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवरले पार्टीले वन, सहकारी, नयाँ बस्तीलगायतका क्षेत्रमा ध्यान केन्द्रीत गर्नुपर्ने सुझाव दिए।

सम्मानित व्यक्तित्व पूर्व क्षेत्रीय सभापति विश्व सिग्देलले पार्टीभत्रका सहयात्रीलाई हराउन खर्च गरिने उर्जा प्रतिस्पर्धी दलसँगको प्रतिश्पर्धामा लगाउन सके काङ्ग्रेस कहिले पनि नहार्ने बताए।

त्यस अवसरमा पूर्व क्षेत्रीय सभापतिहरू विश्व सिग्देल, रामजी कुँवर, वीरेन्द्रनारायण बिजुक्छे, शोभाचन्द्र बराल, निर्मल कर्माचार्य र मृत्युपर्यन्त कृष्ण पराजुलीलाई सम्मान गरिएको थियो।

काङ्ग्रेस क्षेत्र नं ३ कास्कीका सभापति विजयराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधि डा रामचन्द्र पोखरेल, उपसभापति ध्रुव रायमाझी, सचिव दीपेन्द्र मसााीलगायतले बोलेका थिए।

- अादर्श समाज सम्वाददाता