राजदूत फिर्तामा आपत्ति

काठमाडौँ, २५ बैशाख। व्यवस्थापिका-संसद्को शनिबारको बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदले भारतका लागि नेपाली राजदूतलाई सरकारले फिर्ता बोलाएकामा आपत्ति जनाए।

Ambassador-Deep-Kumar-Upadhyaya

सभामुखसँग समय लिएर सो दलका डा प्रकाशशरण महतले भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने सरकारको निर्णय गलत भएको दाबी गरे।

सरकार परिवर्तनमा लागेको, राष्ट्रपतिको भारत भ्रमण रोक्न लागेकोजस्ता आरोप लगाएर राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको भन्दै उनले सरकारसँग सदनमा आएर जवाफ माग गरे।

उनले सरकार परिवर्तन गर्ने विषय सार्वभौम संसद्को विषय भएकाले त्यसलाई अन्तर्राष्ट्रियकरण गर्दै राजदूतसँग जोडेर गरिएको प्रचार पूर्णत गलत भएको जिकिर गरे।सांसद डा महतले गैरजिम्मेवार, अपरिपक्व, प्रतिशोधपूर्ण निर्णय गर्दै सामान्य विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुले दुर्इ मुलुकबीचको सम्बन्धमा प्रभाव पार्ने भएकाले त्यसतर्फ ध्यानाकर्षण गराए।

उनले एनसेलको विषयलाई लिएर-राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा अफवाह भइरहेको भन्दै सो विषयमा सरकारको धारणा माग गरे। राज्यको दायित्व पूरा नगरी कर नतिर्ने प्रवृत्तिलाई उत्साहित गरिएको भन्दै सांसद डा महतले सरकारले सदनमा सो विषयमा प्रस्ट जवाफ दिनुपर्ने धारणा राखे।

- अादर्श समाज सम्वाददाता