अब खेलाडीलाई पेन्सन : पौडेल

पोखरा, २५ बैशाख। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले सरकारी क्षेत्रबाट खेलकुद क्षेत्रको विकासमा अपेक्षाकृत लगानी हुन नसकेको बताएका छन्।

‘खेलकुद क्षेत्रमा राज्यको तर्फबाट आवश्यक लगानी हुन नसक्दा खेलुकद क्षेत्रले सफलता प्राप्त गर्न सकेको छैन’-उनले भने। कुल बजेटको एक प्रतिशत बजेट खेलकुद क्षेत्रमा लगानी गर्न सकेमात्रै खेलकुदको स्तरमा बृद्धि हुने उनको भनाइ छ।

गण्डकी बडी विल्डिङ नदीपुरले आयोजना गरेको खेलाडी सम्मान तथा वनभोज कार्यक्रममा बोल्दै उनले खेलाडीलाई खेल खेलेर बाच्न सकिन्छ भन्ने आधार तयार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी खेलाडीको जिम्मा राज्यले लिनुपर्ने बताए। ‘खेलाडीले आफनो उर्जाशील समय खेलमा बिताउँछ तर जीवनको उत्तरार्द्धमा त्यसबापत केही प्राप्त नहुँदा खेलप्रति वितृष्ण पैदा हुने भएकाले खेलेर बाच्ने अवसर सृजना गर्ने जिम्मेवारी राज्यले लिनुपर्छ’-उनको भने।

नेपाली खेलाडी अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने प्रतिभावान भए पनि  बाच्न सक्ने आधार नहुँदा पलायन हुनुपर्ने अवस्था रहेको उनले बताए। ‘सरकारी जागिर खाएको एउटा ब्यक्तिले निश्चित समय पार गरेपछि पेन्सन पाउँछ तर राष्ट्रको झण्डा बोकेर ज्यानको बाजी लगाएर खेल जीवन व्यतीत गरेको खेलाडीले केही पाउँदैन्, त्यसैले आगामी बजेटमा राष्ट्रिय खेलकुद परिषद् खेलाडी पेन्सनको व्यवस्था गर्ने तयारीमा जुटेको छ’-उनले भने।

कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले खेलकुदलाई राजनीति मुक्त बनाउनुपर्ने बताए। उनले जुनसुकै पार्टीको आस्था बोकेर समितिमा आएको भए पनि रगंशालाभित्र राजनीति नगर्ने बताए।

पोखरा उप-महानगरपालिकाका कानुन अधिकृत नारायणप्रसाद शर्माले बडी बिल्डिङ खेलमा अन्य खेलभन्दा मेहनत गनुपर्ने बताउँदै खेलाडीले सफलता प्राप्त गर्न कडा मेहनत गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा खेलकुद पत्रकार मञ्चका कार्यबाहक अध्यक्ष सन्देश श्रेष्ठ, लिड एजुकेसनका राकेश जोशी, गण्डकी बडी विल्डिङका जीवन घिमिरे, गण्डकी बडी विल्डिङका खेलाडी मौलादिन मियाँलगायतले बोलेका थिए।

यसैबीच, हालै पाकिस्तानको लाहोरमा भएको साउथ एशियन बडी बिल्डिङ च्याम्पियनसीपमा कास्य पदक विजेता सुरेश गुरुङलाई सम्मान गरिएको छ। उनलाई कार्यक्रमका प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, खेलकुद विकास समिति कास्कीका अध्यक्ष याम गुरुङ, पोखरा उप-महानगरपालिकाका कानुन अधिकृत नारायणप्रसाद शर्मा, गण्डकी जिमका सञ्चालक जीवन घिमिरेलगायतले नगद १० हजार, सम्मानपत्र, खादा र अविरसहित सम्मान गरेका हुन्। उनी  जिल्ला, क्षेत्र र अन्तर्राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा प्रथम, तृतीय र तृतिय हुन सफल भएका छन्। करिव दुर्इ दशकदेखि उनी बडी विल्डिङ खेलमा आबद्ध छन्। उनले अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पुग्दा धेरै दुःख र मेहनत गरेका कारण सफलता प्राप्त गरेको बताउँदै उनले आगामी दिनमा पनि राम्रो खेल प्रदशन गर्न सम्मानले हौसला मिलेको उल्लेख गरे।

- एजेन्सी