‘छोराछोरीको मन ढुङ्गा, मुढामाथि’

पोखरा, २५ बैशाख। मातापितालाई भगवानको स्वरुप ठानिन्छ। आफू नखाइनखाइ आमाबाबुले छोराछोरीलाई खुवाउँछन्, हुर्काउँछन्, बढाउँछन्। माया, ममता र स्नेह दसा’छन्। तर तिनै छोराछोरीले बूढाबूढी हुँदा सहारा नबनी सडकमा मिल्काउलान् भन्ने सायद कुनै आमाबाले सोचेका पनि हुँदैनन्।

तर पर्वत शंखरपोखरीका लक्ष्मण शर्मा भने सपनामा पनि नसोचेको यस्तै परिस्थिति भोगिरहेका छन्। एक हात नभएका मुखमा घाउ भएका, उठ्न र हिड्नसमेत गार्‍हो अवस्थामा पुगेका लक्ष्मण जति बेला सन्तानको सहारा खोजिरहेका थिए, त्यति बेला उनी बेसाहारा बने। ‘आमाबाबुको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामुढामाथि’ भन्ने उखान उनमा लागू भयो।

बेसाहारा अवस्थामा पोखरा महतगौडाको प्रतीक्षालयमा भेटिएका शर्माको साथमा एउटा कम्बल ओच्छ्उने र अर्को कम्बल ओढ्ने सिवाय अरु केही थिएन। त्यो पनि फोहर र मैलोले भरिएको थियो।

मुखमा घाउ भएका शर्माको नजिक मानिससमेत पर्ने थिएनन्, छोइएर रोग सर्ला धेरैमा धर थियो। आँखाभरि आँसु पार्दै उनले भने(‘हिड्न सक्ने भए सेतीमा गएर हाम फालेर मर्थे, बाच्ने रहर छैन।’ सामाजिक जागरणका लागि नारी अभियानको टोलीले मातातीर्थ औंसीको अवसरमा आयोजना गरेको वृद्धाश्रममा सहयोग र सत्संग कार्यक्रममा  जाँदा शर्माले भेटेको थियो। अभियानका संयोजक सुष्मा पौडेलको पहलमा प्रशासनिक निकायलाई उक्त कार्यमा सहयोग गर्न आहृवान गरियो। क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइरालाई जानकारी गराइएपछि उनले प्रमुख जिल्ला अधिकारीलाई शर्माको उद्धार गर्न निर्देशन दिए।

निर्देशनपछि जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपीको निर्देशनमा वैदाम प्रहरीको टोली महतगौडा पुगी शर्मालाई गण्डकी हस्पिटल पुर्‍याएको छ। क्षेत्रीय प्रशासकले आफन्तको खोजी गर्नसमेत निर्देशन दिएका छन्।

अधिकारकर्मी माधव पहारीले स्वास्थको हक मौलिक हक भएका कारण राज्यका तर्फबाट उपचारको व्यवस्था गर्न माग गरेका छन्। आध्यात्मिक तथा मानसिक परामर्शको टोली र सामाजिक जागरणका लागि नारी अभियानको टोलीले राज्य पक्षलाई निःशुल्क उपचार गरी घर फर्काउने कार्यमा सहयोग गर्न माग गरेको छ।

गण्डकी हष्पिटलका मेडिकल सुपरिटेण्डेन डा श्रीकृष्ण श्रेष्ठले बेसहारा हुँदैमा उपचारबाट वञ्चित हुन नहुने भन्दै बिरामी कुरुवाका रुपमा सहयोग गरे हस्पिटलले निःशुल्क उपचार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। हस्पिटल सञ्चालक समितिका अध्यक्ष रामनाथ अधिकारीले पनि शर्माको उपचारमा सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन्।

- अादर्श समाज सम्वाददाता