ट्राफिक व्यवस्थापन सुधार्छु : अधिकारी

पोखरा, २५ बैशाख। पोखरासहित कास्कीका सडकमा ट्राफिक व्यवस्थापन चुस्त बनाइने जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका नवनियुक्त प्रमुख प्रहरी निरीक्षक विश्वराज अधिकारीले बताएका छन्।

traffic

उनले पोखराको ट्राफिक व्यवस्थापन सुधारमा आफू लागिपर्ने बताए। शनिबार आयोजित पत्रकार भेटघाटमा उनले ट्राफिक व्यवस्थापनका लागि बिशेष योजना नै बनाएर अघि बढ्ने बताए। उनले भने-’केही समयपछि पोखराको ट्राफिक व्यवस्थापनमा सुधारको संकेत देख्न पाउनुहुनेछ।’ ट्राफिक व्यवस्थापनका लागि सरोकारवाला सबै निकायसँग समन्वय गरी अघि बढ्ने उनले प्रतिबद्धता जनाए।

तत्कालका लागि ट्राफिक नियम कार्यान्वयनमा जोड दिइने उनको योजना छ। ट्राफिक सचेतना कार्यक्रम, पार्किङ व्यवस्थापन, ट्रफिक प्रहरीलाई प्रविधिमैत्री बनाउँदै स्रोत, साधन सम्पन्न बनाउनमा जोड दिने अधिकारीले बताए। कार्यक्रममा पत्रकारहरूले पोखराको ट्राफिक व्यवस्थापन पछिल्लो समय चुनौतीका रुपमा रहेकाले सोही अनुसार विशेष कार्ययोजना बनाएर अघि बढ्न सल्लाह दिएका छन्। उनीहरूले ट्राफिक व्यवस्थापनका लागि विशेष कार्ययोजना बनाए नागरिक समाज र पत्रकार सहयोगका लागि तयार रहेको बताएका थिए। पत्रकारहरूले सार्वजनिक सवारीले बढी भाडा असुल गरेको, गाडीहरू अनियन्त्रित रुपमा सञ्चालन हुने गरेको, क्षमताभन्दा बढी यात्रु राख्ने, जथाभावी रोक्ने प्रवृतिको अन्त्य गर्न सुझाव दिए। उनीहरूले ट्राफिक प्रहरी र उनीहरूका सहयोगीका रुपमा खटिने अन्य प्रहरीलाई प्रशिक्षणको खाँचोसमेत औंल्याए।

ट्राफिक प्रहरी निरीक्षक अधिकारीले सबैको सल्लाह र सुझावको आधारमा ट्राफिक व्यवस्थापनमा सुधार गर्ने प्रतिबद्धता जनाएका छन्। यसैबीच, अधिकारीले आइतबारदेखि कास्कीमा सुरु हुने ट्राफिक सप्ताहमा सक्रिय सहभागिताका लागि अनुरोधसमेत गरेका छन्। विभिन्न सचेतनामूलक कार्यक्रम गरी नेपाल रेडक्रस सोसाइटी कास्की शाखासँगको सहकार्यमा जेठ १ गतेसम्म ट्राफिक सप्ताह मनाइँदै छ।

- अादर्श समाज सम्वाददाता