वैदेशिक अध्ययनसम्बन्धी ऐन बनाउन निर्देशन

काठमाडौँ, २४ बैशाख। संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विदेशमा अध्ययन तथा शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्ने सम्बन्धमा छुट्टै कानुन बनाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ।

म्यानपावर सञ्चालनसम्बन्धी वैदेशिक रोजगारी ऐन भए पनि परामर्श केन्द्र सञ्चालन सम्बन्धी ऐन नहुँदा यो क्षेत्रमा विकृति बढेको भन्दै सांसदहरूले शुक्रबारको बैठकमा ध्यानाकर्षण गराएपछि नयाँ ऐन बनाउन निर्देशन दिइएको समितिका सभापति प्रभु साहले जानकारी दिए।

समितिको बैठकले नेपाली विद्यार्थी विदेश पढ्न जाने उपयुक्त विषय तथा देशको सूची बनाएर सोही अनुरूप अनुमति दिन समेत निर्देशन दिएको छ। नेपाली पढ्न जाने गन्तव्य मुलुकसँग नेपाल सरकारलाई सोसम्बन्धी सम्झौता प्रक्रियासमेत अगाडि बढाउन समितिले निर्देशन दिएको छ। जथाभावी परामर्श केन्द्र दर्ता गर्न रोक्न तथा स्पष्ट मापदण्ड बनाएर मात्रै थप शैक्षिक परामर्श केन्द्रको दर्ता प्रमाणपत्र दिन र नियमित अनुगमन गर्न शिक्षा मन्त्रालयलाई समितिले निर्देशन दिएको छ। समितिको बैठकमा सांसदहरूले परामर्श केन्द्रले म्यानपावरको काम गरेको तथा मानव तस्करीसमेत गरिरहेको भन्दै अनुगमन आवश्यक रहेकोमा जोड दिएका थिए।

उनीहरूले देशको आवश्यकता केहो, कुन विषय पढ्न विदेश जान दिने, कुन विषय पढ्न विदेश जान नदिने लगायतको स्पष्ट मापदण्ड बनाउनुपर्ने धारणा राखेका थिए।

बैठकमा शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले परामर्श केन्द्रसम्बन्धी छुट्टै कानुमा व्यवस्था नभएकाले अहिलेलाई निर्देशिका बनाएर चार सय दुर्इ केन्द्रलाई सञ्चालन अनुमति दिइएको जानकारी दिए। उनले थप सात सय केन्द्रले अनुमतिका लागि मन्त्रालयमा निवेदन दिएको जानकारी दिँदै अध्ययन गरेर अनुमति दिइने बताए।

उनले शिक्षाका लागि विदेश जाने ९० प्रतिशत विद्यार्थीको लक्ष्य रोजगारीसमेत हुने गरेको स्वीकार गर्दै १० प्रतिशत विद्यार्थी पढ्न जाने गरेको देखिएको बताए।

बैठकमा सहभागी अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानले परामर्श केन्द्रमार्फत् विद्यार्थी प्रवेशाज्ञा कामदार पठाउने होड चलिरहेको भन्दै यसलाई नियन्त्रण गर्न जरुरी रहेको धारणा राखे। उनले भने-’अहिले चिलीमा ‘वाइन एण्ड स्पेनिश’ विषय पढ्ने भन्दै एयरपोर्टबाट विदेशिनको सङ्ख्या हृवात्तै बढेको छ, यो विषय के हो भन्दा पढ्न जाने कसैलाई थाहा छैन। यस्तो विषय पढ्न जान राज्यले अनुमित दिने कि नदिने बहस हुन आवश्यक छ।’

शैक्षिक परामर्श केन्द्रको विकृति अन्त्य गर्न र ठगी नियन्त्रण गर्न प्रभावकारी भूमिका खेलेको भन्दै संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक -एसएसपी) सवेन्द्र खनाललाई धन्यवाद दिएको छ।समितिका सभापति प्रभु साहले वरिष्ठ उपरीक्षक खनालको नेतृत्वमा शैक्षिक परामर्श केन्द्रमाथि कारबाही सुरु गरेपछि अहिले सो क्षेत्रका धेरै समस्या समाधान हुँदै गएको भन्दै त्यसका लागि समितिको तर्फबाट धन्यवाद दिए। बैठकमा सहभागी खनालले सांसदहरूले दिएको हौसलाले काम गर्न प्रेरणा मिलेको बताए।

- रासस