स्वतन्त्र पत्रकार संघ कास्कीको शुभकामना कार्यक्रम

स्वतन्त्र पत्रकार हुनुमा गौरव छ : बास्तोला

पोखरा, २४ बैशाख। स्वतन्त्र पत्रकार संघ नेपाल कास्कीले नववर्षको अवसरमा शुक्रबार शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोकार्पण गरेको छ।

संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, सल्लाहकारहरू नारायण कार्की, उमाकान्त शर्मा, दिलीप राई र जिल्ला अध्यक्ष वीरेन्द्र सापकोटाले संयुक्त रुपमा भित्तेपात्रो लोकार्पण गरेका छन्।

कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष बास्तोलाले स्वतन्त्र पत्रकार हुनुमा गौरव भएको बताए। आफ्नो स्वाभिमान उचाइँमा पुर्‍याउनुजस्तो आत्मसन्तुष्टि अरुमा नहुने उल्लेख गर्दै उनले समाजले स्वतन्त्र पत्रकारप्रति गरेको सम्मानलाई अझै क्रियाशील भएर जिम्मेवारी पूरा गर्नुपर्ने बताए।

सल्लाहकार नारायण कार्कीले राजनीतिक दबदबा रहेको समाजमा स्वतन्त्र रहेर बाँच्न निकै कठिन भए पनि स्वतन्त्र रहनुमै पत्रकारको प्रतिष्ठा हुने बताए।

उनले प्रेस काउन्सिलबाट कारवाही गरेका व्यक्तिलाई नै काउन्सिलमा सदस्य नियुक्त गर्नेसम्मका हर्कत देखिएको उल्लेख गर्दै वरिष्ठ पत्रकार सम्मान पनि सेवाका आधारमा नभइ गुटका आधारमा सिफारिस हुने गरेको बताए।

अग्रज पत्रकार उमाकान्त शर्माले स्वतन्त्र पत्रकारहरू सक्रिय हुनुपर्नेमा जोड दिँदै धेरैको सहयोग प्राप्त हुने बताए।

पत्रकारितामा स्वाभिमानपूर्वक लाग्नु अहिलेको समयको अवश्यकता भएको सल्लाहकार दिलीप राईले बताए। उनले भने-’अरुको झोला बोक्नुभन्दा स्वाभिमानपूर्वक उभिने स्वतन्त्र पत्रकार सयौं गुना ठूलो हुन्छ।’

भित्तेपात्रो प्रकाशन समितिका संयोजक तिलक थापाले पत्रकारले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने बताए।

कास्की शाखाका अध्यक्ष वीरेन्द्र सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष पदमराज उदासीले स्वागत र सञ्चालन सचिव कृष्ण रानाभाटले गरेका थिए।

- अादर्श समाज सम्वाददाता