‘संविधान कार्यान्वयनमा सञ्चारको भूमिका महत्वपूर्ण’

पोखरा, २४ बैशाख। लामो संर्घषपछि जनताले बनाएको संविधान कार्यान्वयनमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रमका वक्ताले बताएका छन्।

पोखरामा शुक्रबार आयोजित ‘नेपालको संविधान कार्यान्वयनमा सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तक्रिर्याका वक्ताहरूले सञ्चार माध्यम यसको कार्यान्वयनको पक्षमा लाग्नुपर्ने बताए। प्रथम राष्ट्रिय पत्रकारिता दिवस जिल्ला समारोह समितिले आयोजना गरेको अन्तक्रिर्यामा संविधान कार्यान्वयनमा देखिने चुनौतीविरुद्ध सञ्चारमाध्यम एक हुनुपर्ने उनीहरूले बताए।

कास्कीका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद रेग्मीले संविधान कार्यान्वयनमा सञ्चार क्षेत्रको खबरदारी आवश्यक रहेको बताए। ‘संविधानसँग मेल खाने ऐन कानुन बनाउनुपर्ने मुख्य कार्य बाँकी नै छ’-उनले भने-’कानुन नबन्दासम्म सञ्चार क्षेत्रले खबरदारी गरिरहनुपर्छ।’

कास्कीका स्थानीय विकास अधिकारी दामोदर भण्डारीले सञ्चार माध्यमले संविधानका राम्रा पक्ष फैलाउने र कमीकमजोरी औंल्याउनुपर्ने धारणा राखे।

प्रेस स्वतन्त्रता सेनानी वद्रिविनोद प्रतीकले सञ्चार माध्यमले संविधानका राम्रा पक्षलाई आम जनसमुदायसम्म पुर्‍याउन प्रतिवद्धताको खाँचो औंल्याए।

अर्का, प्रेस स्वतन्त्रता सेनानी नारायण भट्टराईले संविधानको कार्यान्वयन चुनौतीपूर्ण देखिएपछि सञ्चारमाध्यमले सहजीकरणको भूमिका खेल्नुपर्नेमा जोड दिए।

नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष रवीन्द्र बास्तोलाले धेरै मौलिक हकको व्यवस्था गरिएको भन्दै संविधान कार्यान्वयनमा आशंका व्यक्त गरे।

पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले सञ्चार माध्यमले संविधानप्रति सकारात्मक दृष्टिकोण राखेर कार्यान्वयनमा सहयोग पुर्‍याउनुपर्ने बताए।

कार्यक्रममा पत्रकारहरू पुण्य पौडेल, रमेश पौडेल, हेमराज बराल, दीपेन्द्र श्रेष्ठ, शान्ति गुरुङ, वासुदेव पौडेल, दुर्गा भण्डारी, धनश्याम पाण्डेयलगायतले बोलेका थिए।

प्रथम राष्ट्रिय पत्रकारिता दिवस जिल्ला समारोह समितिका सहसंयोजक एवं निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण रेग्मीको अध्यक्षतामा भएको अन्तक्रिर्याको सञ्चालन पत्रकार महासंघ कास्कीका सचिव त्रिभुवन पौडेलले गरेका थिए। गोरखापत्र प्रकाशन भएको १९५८  बैशाख २४ गतेलाई यो वर्षदेखि सरकारले राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउने निर्णय गरेको छ। कास्कीमा पनि त्रिदिवसीय रुपमा यो दिवस मनाइँदै छ।

- अादर्श समाज सम्वाददाता