धुवाँ हटाउन सुधारिएको चुल्हो

पोखरा, २४ बैशाख। कास्कीको पुरन्चौर गाविसमा धुवाँमुक्त अभियान थालिएको छ।

दाउराबाट निस्कने धुवाँले स्वास्थ्यमा पर्ने असर कम गर्न सुधारिएको चुलो निर्माणमा गाउँले जुटेका हुन्। गाउँलाई धुवाँमुक्त बनाउन गाउले छलफलमा जुटेका छन्।

पहिलो चरणमा गाविसका एक सय ५० दलितको घरमा चुलो निर्माण गरिनेछ। दलित परिवारलाई चुलो निर्माणका लागि आमा मिलन केन्द्र पोखरा, टिम अर्गानाइजेसन, पिपुल हेल्थ फाउन्डेसन र नेत्र हीन संघ कास्कीले सहयोग गर्ने भएका छन्। ‘गाविसलाई धुवाँमुक्त बनाउन स्थानीय जुटेका छन्’-आमा मिलन केन्द्रका अध्यक्ष इन्दिरा पौडेलले भनिन्-’हामीले पहिलो चरणमा एक सय ५० दलित परिवारलाई पाँच सय रूपैयाँ र प्राविधिक उपलब्ध गराउँदै छौं।’ सुधारिएको चुलो निर्माण गर्न दलित लक्षित कार्यक्रममार्फत् गाविसले ३० हजार रूपैयाँ छुटयाइएको सचिव हरिप्रसाद अधिकारीले जानकारी दिए।

दलित परिवारमा चुलो निर्माण सकिएलगत्तै सामुदायिक वन महासंघ कास्कीको सहयोग र स्थानीयको सक्रियतामा गाविसका सबै परिवारमा अभियान थालिनेछ।

भान्छामा काम गर्ने महिलाको स्वास्थ्यमा धुवाँले पार्ने असरबाट जोगाउन सुधारिएको चुलोले सहयोग गर्ने कार्यक्रम संयोजक यमनाथ सापकोटा बताउँछन्।

- एजेन्सी