‘सजिलै घटाउन सकिन्छ उर्जा खपत’

पोखरा, २४ बैशाख। सामान्य कुरामा ध्यान दिन सके पनि उद्योग/प्रतिष्ठान एवं घरायसी काममा पनि ठूलो मात्रामा उर्जा बचाउन सकिने विज्ञहरूले बताएका छन्।

उनीहरूले घरमा प्रयोग हुने उपकरणले पूर्ण क्षमतामा काम गरे/नगरेको परीक्षण गर्न, सकेसम्म कम उर्जा खपत गर्ने उपकरण प्रयोग गर्न तथा उर्जा खपत घटाउने उपायहरू सिक्न सवसाधारण तथा उद्योगी/व्यवसायीलाई सुझाएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा बिहीबार पोखरामा भएको उर्जा दक्षता तथा  व्यवस्थापनसम्बन्धी चेतनामूलक कार्यक्रममा बोल्दै उनीहरूले यस्तो बताएका हुन्।

‘हामी पानी उम्लेर जाँदा ग्याँस खर्च भएकोमा खासै चुकचुकाउँदैनौँ’-उर्जा विज्ञ तथा नेपाल उद्योग वाणिज्य संघको उर्जा तथा वातावरण विभाग प्रमुख डा. उत्तम कुँवरले भने-’तर दूध उम्लेर खेर गएकोमा भने हामी खुबै ख्याल गछौर्ँ, यस्तै साना कुरामा ख्याल नगर्दा बढी उर्जा खपत हुन्छ।’ कुँवरले ठूला उद्योगमा प्रयोगमा आएका पुराना उपकरण, विभिन्न ठाउँबाट हुने उर्जा चुहावटलाई रोक्न सकेमा मात्र पनि ठूलो परिणाममा उर्जा बचाउन सकिने र त्यसले पैसाको पनि बचत हुने बताए।

नेपालको उद्योग क्षेत्रले अझै पनि ५८ प्रतिशत उर्जा कोइलाबाट प्राप्त गर्ने गरेको उनले जनाए। ती उद्योगले   २३ प्रतिशत बिजुली, १० प्रतिशत कृषिजन्य सामाग्री, पाँच प्रतिशत काठ, दुर्इ प्रतिशत डिजेल र बाँकी दुर्इ प्रतिशत मात्र वैकल्पिक उर्जा प्रयोग गरेको उनको भनाइ छ। जर्मन र नेपाल सरकारको सहयोगमा उद्योग वाणिज्य महासंघले सञ्चालनमा ल्याएको परियोजनाले उद्योग तथा सवसाधारणलाई कसरी कम उर्जा खपत गर्ने भन्नेबारे प्राविधिक सीप सिकाउने गर्छ।

कार्यक्रममा बोल्दै उर्जाविज्ञ  डा. पवनकुमारले ठूला उद्योग, अस्पताल, टे्रड मल, व्यवसायिक भवनलाई उर्जा अडिट गर्न सुझाए। उनका अनुसार नेपालको एक स्टिल उद्योगले उर्जा अडिट गर्दा एक वर्षमा विभिन्न क्षेत्रमा गरी ३३ करोड बचत गर्न सफल भएको छ।

अर्का उर्जा विज्ञ अजयकुमार शाहले उर्जा व्यवस्थापन अहिलेको जमानामा अपरिहार्य भएको जनाउँदै व्यवसायिक प्रतिष्ठानहरूलाई सघाउन आफूहरु तयार रहेको बताए।कार्यक्रमका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष देव क्षेत्रीले उर्जा कम प्रयोगका लागि घरबाटै सुरु गर्नु पर्नेमा जोड दिए। प्रयोगमा नआउँदा बत्ती निभाउनु, विद्युतीय सामानको सही तरिकाले प्रयोग गर्नु पनि उर्जा बचतको तरिका भएको उनको भनाइ थियो।

पोखरा उद्योग  वाणिज्य संघका महासचिव रवीन्द्रबहादुर प्रजुले उर्जा बचतबारे भएको यो कार्यक्रम फलदायी रहेको बताउँदै पोखरा औद्योगिक क्षेत्रका व्यवसायीले परियोजनाबाट लाभ लिनुपर्नेमा जोड दिए।

- एजेन्सी