‘हिमागृह भाडामा नदेऊ’

पोखरा, २३ वैशाख। प्राकृतिक तथा ऐतिहासिक महत्व रहेको पोखराको रत्न मन्दिरसँगैको हिमागृहलाई भाडामा दिने सूचनाप्रति पोखरेली समुदायले आपत्ति जनाएका छन्।

नेपाल ट्रष्टको कार्यालय काठमाण्डौबाट यही बैशाख १८ गते गोरखापत्रमा प्रकाशित सूचनाप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाइएको हो। भाडामा दिने निर्णय खारेज गर्न नेपाल ट्रष्टसँग अनुरोध गर्दै बिहीबार प्रेषित पत्रमा हिमागृहसहित रत्न मन्दिर परिसरलाई सम्पदाका रुपमा संरक्षण गर्ने भनी एक वर्षअघि नै घोषणा भइसकेको स्मरण गराइएको छ।

पत्रमा सार्वजनिक महत्व राख्ने हिमागृहजस्तो सार्वजनिक सम्पत्तिलाई कमिसनको चक्कर वा कुनै पनि वाहानामा निजी क्षेत्रलाई भाडामा दिने दुष्प्रयास भएमा आम पोखरेली जनसमुदाय कडा आन्दोलनमा उत्रिने चेतावनी पनि दिइएको छ। यसरी पोखरेली समुदायका तर्फबाट हिमागृह भाडामा दिने प्रक्रिया खारेज गर्न संयुक्त रुपमा माग गर्नेहरूमा नागरिक समाज पोखरा (संयोजक) रामबहादुर पौडेल, राष्ट्रिय सम्पदा संरक्षण समिति, नेपाल (अध्यक्ष) शशी तुलाचन, पोखरा सम्पदा संरक्षण समिति (फोकल पर्सन) दीपेन्द्र श्रेष्ठ, राष्ट्रिय पर्यटन प्रबर्द्धन समिति (पश्चिमाञ्चल संयोजक) गोविन्दराज पहारी, पोखरा पर्यटन परिषद् (उपाध्यक्ष) चिरञ्जीवी पोखरेल, पोखरा उद्योग वाणिज्य संघ (द्वितीय उपाध्यक्ष) मीनराज काफ्ले, रत्न मन्दिर फेवाताल सरोकार समिति -सदस्य) विष्णुहरि अधिकारी, रेवान पोखरा (अध्यक्ष) गोपीबहादुर भट्टराई, पश्चिमाञ्चल होटल संघ (अध्यक्ष) भरतराज पराजुली, राष्ट्रिय पर्यटन परिषद् (सदस्य) वासु त्रिपाठी, नेपाल पर्यटन बोर्ड (पूर्व कार्यकारी सदस्य) अग्नि कँडेल, नेपाल पर्यटन बोर्ड (पूर्व कार्यकारी सदस्य) टीकाराम सापकोटा, टान पश्चिमाञ्चल पोखरा (अध्यक्ष) रामचन्द्र शर्मा, नाट्टा पश्चिमाञ्चल पोखरा (अध्यक्ष) दिल गौतम र नगर महिला समन्वय समिति पोखरा (अध्यक्ष) पवित्रा गुरुङ छन्।

- अादर्श समाज सम्वाददाता