एनजिओहरूको अनुगमन गर्न आग्रह

बैठकका सहभागीले गैससकै कारण योजनामा दोहोरोपना आउने र नियम संगत काम नगर्ने परिपार्टी विकास भएकाले त्यसको नियमन गर्न अनुरोध गरेका छन्।

पोखरा, २३ बैशाख। कास्कीमा कार्यरत गैर सरकारी संस्थाहरूलाई नियमन गर्न आग्रह गरिएको छ।

गैसस महासंघ कास्की र जिल्ला स्थित सबै विषयगत कार्यालयबीच बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकका सहभागीले गैससकै कारण योजनामा दोहोरोपना आउने र नियम संगत काम नगर्ने परिपार्टी विकास भएकाले त्यसको नियमन गर्न अनुरोध गरेका छन्। बैठकमा गैसस सञ्चालन कार्यविधि २०६७ माथि छलफल गरेर अपडेट गर्नका लागि छुट्टै समिति गठन गर्ने निर्णय भएको छ।

यस्तै, गैससको अनुगमन गर्नका लागि जिल्ला विकास समिति कास्कीका सामाजिक विकास अधिकृत अर्जुन नेउपानेको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ। गैससको सुशासन, व्यवस्थापन, प्रवर्द्धन र प्रभावकारी परिचालनका लागि हालकै समितिलाई सक्रिय बनाउने र विषयगत कार्यालयसँग निरन्तर समन्वयको वातावरण सिर्जना गर्ने विषयमा पनि छलफल भएको छ।

कार्यक्रममा गैसस महासंघ कास्कीका अध्यक्ष गोपाल खड्काले गैससको सुशासन र प्रभावकारी परिचालनसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। ‘केही गैससका कारण राम्रो काम गरेकाहरू पनि एउटै डालोमा गनिएका छन् र अविश्वास बढ्दै गएको छ’-उनले भने-’यसलाई अनुगमन र नियमन गरी राम्रा काम गरेकालाई प्रोत्साहन र नराम्रा काम गर्नेाई कारबाही गर्ने वातावरण बन्नुपर्छ।’ उनले सबै गैससले सामाजिक परीक्षण, वाषिर्क कार्यक्रम तथा साधारणसभा जस्ता समयमै गर्नुपर्ने, सबै गैससको वाषिर्क अनुगमन गर्नुपर्ने, गैससहरूको वर्गीकरण, प्रोफाइल, सफ्टवेयर तथ्याङ्कको व्यवस्थापन गर्न परिचालन समितिले सहयोग गर्नुपर्ने बताए।

कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले गैससको नियमन गर्न नसकिएको भन्दै आगामी दिनमा अनुगमन र नियमनलाई प्रभावकारी बनाइने बताए। ‘सबैले गैसस परिचालनमा प्राथमिकताका साथ काम गर्न सकेका छैनन्’-उनले भने-’सबै गैससको नियत राम्रो छैन, स्रोत, साधन सही ठाउँमा उपयोग गर्नका लागि विषयगत कार्यालय र सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्नुपर्छ।’गैसस विकासको साझेदार भएकाले जनताका हितमा काम गर्न उनले आग्रह गरे।

स्थानीय विकास अधिकारी दामोदर भण्डारीले जिविसमा एनजिओ डेस्क स्थापना गरी एकद्वार प्रणालीमा समाबेश गराउन पहल गर्ने बताए।

प्रमुख जिल्ला अधिकारी मैनालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गैसस महासंघ कास्कीका सचिव इन्दिरा पौडेलले गरेकी थिइन्।

- अादर्श समाज सम्वाददाता