प्रेस स्वतन्त्रतामा अंकुश लाग्दैन : राष्ट्रपति

चितवन, २१ बैशाख। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस स्वतन्त्रतामा कोही, कसैले अंकुश लगाउन नसक्ने बताएकी छिन्।

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभाको मङ्गलबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले पत्रकारहरू पनि आफूले बनाएको आचारसंहिताले जिम्मेवार बन्नुपर्ने बताइन्। उनले भनिन्-’आचारसंहिताको पालना गरेर प्रेस मर्यादित बन्न सक्छ, स्वतन्त्र र व्यवसायिक धर्म निर्वाह पत्रकार जगतले गर्नैर्पर्दछ।’

व्यक्तिगत स्वतन्त्रता र गोपनीयताको हक हनन्को रक्षामा स्वयं पत्रकार संवेदनशील हुनुपर्ने राष्ट्रपति भण्डारीले बताइन्। भण्डारीले राजनीतिक परिवर्तनका खाँतिर संविधानमा भएका व्यवस्थाको संरक्षण, कार्यान्वयन तथा आगामी दिनमा देशले अंगिकार गर्ने सामाजिक, आर्थिक रुपान्तरणको अभियानमा राज्यको चौथो अंगका रुपमा रहेको प्रेस जगतको भूमिका अहम् रहने बताइन्।

उनले यो दायित्व बोध संविधान जारी गर्ने पूर्व सन्ध्यामा नेपाल पत्रकार महासंघका वर्तमान पदाधिकारीले देखाएको परिपक्व व्यवहारले प्रमाणित भएको उल्लेख गरिन्। राज्य र सरकारले देश र जनताका पक्षमा लिएका असल नीतिबारे जनतालाई सूसूचित गर्ने अधिकार प्रेस जगतलाई रहेको र राज्यका कमी, कमजोरी औल्याउँदा सरकार निरंकुश हुन सक्ने कुरालाई मध्यनजर राख्दै देशको मूल कानुन संविधानको प्रस्तावनामा नै प्रेस स्वतन्त्रता राखिएको उनको भनाइ थियो।

राष्ट्रपति भण्डारीले उच्चतम स्वतन्त्रताको प्रत्याभूति उच्च स्तरको दायित्वबाट मात्रै पूरा हुन्छ भन्ने कुरामा कसैको दुर्इ मत हुन नसक्ने बताइन्। उनले भनिन्-’सवल, सशक्त र स्वतन्त्र सञ्चारमाध्यम देशको सर्वोपरि राष्ट्रिय हितको पहरेदार हो।’ श्रमजीवी पत्रकारको पारिश्रमिक र सुविधामा सरकार तथा संचारगृहहरू सकारात्मक रहनुपर्दछ भन्दै राष्ट्रपति भण्डारीले पत्रकारले पनि देशको अखण्डता, सार्वभौमिकता र राष्ट्रिय हित, स्वाभिमान संरक्षणका साथै धार्मिक, सांस्कृतिक र जातीय सद्भावका लागि सबै सजग र सचेत बन्नैपर्ने बताइन्।

राष्ट्रपति भण्डारीले भ्रष्टाचार र अनियमितता विरुद्धको अभियानका साथै हिंसाको अन्त्य गर्न न्याय र समानताप्रतिको संवेदनशीलतामा पनि पत्रकारको ध्यान पुग्नुपर्ने बताइन्।

कार्यक्रममा सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उद्योग मन्त्री सोमप्रसाद पाण्डेले नेपालको संविधान सञ्चार जगतको उन्नतिका लागि कोशीढुङगा भएको भन्दै आर्थिक समृद्धिको पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गरे।

प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले पत्रकारिता क्षेत्रको विकासका लागि काउन्सिलले गरेका कामको चर्चा गर्दै आगामी दिनमा नेपालको पत्रकारितालाई अझैमाथि उठाउन सक्दो प्रयास गर्ने बताए।

महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले दण्डहिनता र सेन्सरसीप अन्त्यका लागि महासंघले भूमिका खेलेको बनाउँदै विधान संशोधनसमेत गरिने हुँदा यो साधारणसभा निकै महत्वपूर्ण रहेको बताए ।

- अादर्श समाज सम्वाददाता