‘हाकिम सा’ब हाम्रो फाइल खै ?’

प्रत्येक वर्ष हाम्रो फाइल कार्यालयमा पुगेको हुन्छ’-पर्यटन व्यवसायी रामचन्द्र शर्माले भने-’तर त्यही फाइलपछि खोज्दा पाइँदैन, कसरी हराउँछ ?

पोखरा, २१ बैशाख। पोखराका उद्योगी व्यवसायीले कम्पनी रजिष्टारको कार्यालयबाटै फाइल हराउने गरेको गुनासो गरेका छन्।

पोखरा उद्योग वाणिज्य संघ र कम्पनी रजिष्टारको कार्यालयले आयोजना गरेको अन्तक्रिर्याका सहभागीले कम्पनी दर्ता गर्दा दिइएका फाईल हराउने र अनावश्यक रुपमा जरिवाना तिर्नु गरेको गुनासो गरे। ‘प्रत्येक वर्ष हाम्रो फाइल कार्यालयमा पुगेको हुन्छ’-पर्यटन व्यवसायी रामचन्द्र शर्माले भने-’तर त्यही फाइलपछि खोज्दा पाइँदैन, कसरी हराउँछ -’ उनले कार्यालयमा दलाली प्रथा बढी हुँदा विना कारण पैसा धेरै तिर्नुपरेको गुनासोसमेत गरे।

अर्का व्यवसायी मिनराज काफ्लेले कम्पनीको दर्ता खारेजी प्रक्रिया निकै कठिन भएको गुनासो गरे। ‘जरिवाना आउने आशाले कार्यालयले सहजै खारेजी गर्न मान्दैन’-उनले भने-’कम्पनी दर्ताभन्दा खारेज गर्न गाह्रो भयो, जरिवानाको प्रावधान संशोधन गरियोस् र सहजै खारेज हुने व्यवस्था मिलाइयोस्।’

कार्यक्रमका अधिकांश सहभागीले झन्झटिलो कम्पनी दर्ता र खारेजी प्रक्रिया सरल बनाउन अनुरोध गरे। कम्पनी दर्ता र सञ्चालन एवं बन्द गराउँदा झेल्नुपर्ने झन्झट र जरिवानाबारे सवसाधारणले समेत बुझ्ने गरी सचेतता कार्यक्रम गर्नुपर्ने उनीहरूको माग छ। कम्पनी दर्ता गर्न सजिलो हुने तर पुँजी वृद्धि, पुँजी घटाउने तथा कम्पनी बन्द गराउँदा हुने कानुनी जटिलताका कारण सञ्चालनमा नआएका धेरै कम्पनीसमेत बन्द नभएको उनीहरूले बताए। झन्झटिलो कानुनी प्रक्रियाका कारण व्यवसायीले बिचौलिया वा कानुन व्यवसायीलाई मोटो रकम तिर्नु परेको बताएका छन्।

कम्पनी रजिष्टार कार्यालयका उपरजिष्टार चन्द्रप्रसाद देवकोटाले राजधानीमा मात्र रहेको कम्पनी रजिष्टारको कार्यालयलाई प्रादेशिक संरचना अनुसार विकास गर्न लागिएको जानकारी दिए। कम्पनी दर्ता र खारेजीमा देखिएको समस्याकै कारण नेपालमा दर्ता भएका एक लाख ४० हजार कम्पनीमध्ये ४० हजारले मात्र आफ्नो गतिविधि अध्यावधिक गरेको उनले बताए।

कम्पनी रजिष्टार कार्यालयले अनलाइनमार्फत् नै कम्पनी दर्ताको प्रक्रिया सुरु गरेको जानकारी दिँदै उपरजिष्टार देवकोटाले कम्पनी दर्ता गर्नेहरूलाई सोही प्रक्रियाबाट कम्पनी दर्ता गर्न सुझाए। आफ्नो कार्यालयमा वकिल  र विचौलियाको जगजगी रहेको स्वीकार्दै उनले त्यस्ता व्यक्तिकै कारण कम्पनी दर्ता र खारेजी एवं अद्यावधिक प्रक्रिया महंगो हुन पुगेको स्वीकारे। ‘अफिसमा बिचौलियाहरू छन्, त्यहाँ वकिल र बिचौलियाको जगजगी छ, हाम्रा साना तहका कर्मचारीबाट पनि गल्ती भएको हुनसक्छ’-उनले भने-’सहरजिष्टार, उपरजिष्टार र रजिष्टार कहाँ आउनुहोस्। काम सजिलै हुन्छ।’

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुुकुमार थापाले कम्पनी स्थापना, सञ्चालन र अद्यावधिक एवं खारेजी प्रक्रियालाई झन्झटमुक्त बनाउनुपर्नेमा जोड दिए। कम्पनी रजिष्टार कार्यालयलाई राजधानीबाहिर विस्तार गर्ने निर्णयको स्वा गर्दै उनले कम्पनीसम्बन्धी जानकारी सवसाधारणसम्म पुग्ने व्यवस्था मिलाउन माग गरे।

पोखरा पर्यटन परिषद्का अध्यक्ष सोमबहादुर थापाले अन्य देशमा कम्पनी दर्ताको सुविधा घरमै उपलब्ध हुने बताए।

- अादर्श समाज सम्वाददाता