फेवा विकास बैंकमा थापा

बैशाख, २१ पोखरा। पोखरामा प्रधान कार्यालय रहेको फेवा विकास बैंकको अध्यक्षमा विन्दुकुमार थापा सर्वसम्मत चयन भएका छन्।

बैंकको हालै बसेको सञ्चालक समितिको बैठकले थापालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो। गत चैत ३० गते भएको बैंकको साधारणसभाले थापासहित रामभक्त रञ्जित, जगनबहादुर गुरुङ, सुशील गौचन, अमरबहादुर केसी, नारायणबहादुर बानियाँ, रवीन्द्र माकाजू र सञ्जीव बानियाँलाई सञ्चालक समिति सदस्यमा चयन गरेको थियो।

पोखराको फेवा फाइनान्स र विश्व विकास बैंक गत वर्ष गाभिएर फेवा विकास बैंक बनेको हो।

बैंकको चुक्ता पुँजी ९९ करोड ५० लाख रहेको प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए।  निक्षेप संकलन १० अर्ब ६३ करोड र कर्जा लगानी नौ अर्ब ३३ करोड छ।

- अादर्श समाज सम्वाददाता