पाल्पामा खानेपानीको समस्या

पाल्पा, २१ बैशाख। भूकम्पले मुलहरु हल्लिने, भासिने र गत वर्षभन्दा कम पानी परेपछि पाल्पामा सदरमुकाम तानसेनदेखि गाउँगाउँसम्म खानेपानीको समस्या भएको छ।

पहाडी जिल्लामा परम्परागत, ढुङ्गेधारा, कुवा र पधेरामा पानी सुकेको छ भने कतिपय चापाकलबाट तान्ने पानी पनि सुकेको छ। खानेपानी अभाव भएपछि रातभरि धारा कुवामा पालो पर्खिन र ट्याङ्करबाट पानी किनेर खान स्थानीय बाध्य भएका छन्।

गाउँघरमा पालिएका पशुपक्षीलाई पानी पुर्‍याउन धौ-धौ भएको छ। एक ग्रागी पानी लिन दुर्इ तिन घण्टा लगाएर खोला र खोल्समा जानु परेको बराङ्दीका हरिप्रसाद बस्यालले बताए। तानसेन सदरमुकामा लिफ्टिङबाट खानेपानी तानेर वितरण गरिएको छ तर मूल सुकेपछि २५ प्रतिशतमात्रै आएको छ।नगरमा १० दिनमा एक पटक धारा आउने गरेको छ। तानसेनका लागि दैनिक २५ लाख लिटर आवश्यकता परे पनि छ लाख लिटरमात्र पानी आएको छ। मूल सुकेकाले भुल्केमुलको चारमध्ये एक पम्पमात्र चलेको छ। सिस्नेमुलबाट दुर्इमध्ये एक चलेको र ग्राविटी बाँझाको मूलहरू पनि सुकेकाले ३६ वर्ष यताकै पानीको दुःख भएको तानसेन खानेपानी समितीका कोषाध्यक्ष भीमसेन कार्कीले बताए।

तानसेन सदरमुकाममा २० लिफ्ट खानेपानी योजना रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाका इन्जिनियर भरत पोखरेलले बताए।

- अादर्श समाज सम्वाददाता