डढेलोले घरगोठ नष्ट

पोखरा, २१ बैशाख। कास्कीको चापाकोटमा आगलागीबाट दाजुभाइको घरगोठ नष्ट भएको छ।

स्थानीय क्यानिफोर कान्ले खोरिया सामुदायिक वनमा लागेको डढेलो हावाहुरीसँगै बस्तीमा फैलिएको थियो। आगलागीबाट चापाकोट वडा नम्बर ७ का सालिकराम लामिछाने र राजु लामिछानेको घरगोठ नष्ट भएको हो। सोही वनमा सोमबार लागेको आगो स्थानीयले निभाएका थिए। तर पूरै ननिभेका कारण मङ्गलबारको हावा, हुरीले पुनः सल्किएको स्थानीय दामोदर पराजुलीले जानकारी दिए।

घरमा कोही नभएका बेला आगलागी भएकाले घरभित्रका सबै सामान जलेर नष्ट भएको स्थानीयको भनाइ छ। गोठमा रहेका गाईभैँसी भने आगलागी हुँदै गर्दा स्थानीले निकालिदिएका थिए। स्थानीय र प्रहरी प्रशासनको सहयोगमा लामो समयपछि आगलागी नियन्त्रणमा आएको छ। घर आगलागीमा परेपछि लामिछाने दाजुभाइको परिवार अहिले छिमेकीको घरमा आश्रय लिएर बसेका छन्।

हावाहुरीका कारण चापाकोट स्थित सिद्ध बराह भैँसी फार्म र तरकारी खेतीमा समेत क्षति पुगेको छ।

- अादर्श समाज सम्वाददाता