आगलागी पीडितलाई राहत

पोखरा, २१ बैशाख। स्याङ्जाको मनकामना-७, लामडाँडामा भएको आगजनीबाट पीडित २० घर, परिवारलाई स्याङ्जाली सर्म्पर्क सदन पोखराले आपतकालीन राहत प्रदान गरेको छ।

सदनको नेतृत्वमा पोखराबाट गएको लायन्स क्लब अफ पोखरा सेन्टरसहितको टोलीले आगलागीबाट पीडित परिवारलाई अत्यावश्यक दाल, चामल, तेल, चिउरा, भाँडाकुँडा, कम्बल, म्याटरेसलगायतका सामाग्री वितरण गरेको हो।

सदनका अध्यक्ष चिरञ्जीवी पोखेरेल र सदनका सल्लाहकार डा. दिलबहादुर क्षत्रीले घटनास्थलमा पुगेर मनकामना गाविस सचिव डिल्लीराम चापागाईमार्फत् आगलागीबाट पीडितलाई संयुक्त रुपमा राहत प्रदान गरेका थिए। सदन र लायन्स क्लब पोखरा सेन्टरको पहलमा पोखरामा सङ्कलन गरिएको उक्त राहत सामाग्री मनकामना गाविसका आगलागीबाट पीडित परिवारलाई वितरण गरिएको हो।गत हप्ता स्याङ्जाको मनकामना-७, लामडाँडास्थित बस्तीमा अचानक लागेको आगलागीबाट उक्त गाँउका २० घर तथा गोठ पूर्ण रुपमा जलेर नष्ट भएका थिए। आगलागीबाट झण्डै तीन करोड नोक्सानी भएको गाविस सचिव डिल्लीराम चापागाईले जानकारी दिए।

- एजेन्सी