काङ्ग्रेस अधिवेशन अझै अनिश्चित

काठमाडौँ, २० बैशाख। नेपाली काङ्ग्रेसले केन्द्रीय अधिवेशनअघि नै सम्पन्न गरिसक्नुपर्ने १० जिल्लाको अधिवेशनको मिति अझै टुङ्गो लाग्न सकेको छैन।

केन्द्रीय महाधिवेशन सकिएको दुर्इ महिना हुँदासमेत विविध कारण रोकिएको १० जिल्लाको अधिवेशन अझै हुन सकेको छैन। जिल्लाको आन्तरिक विवाद, अधिवेशन गर्ने स्थान, भौगोलिक कठिनाइ, ढिला गरेर सुरु भएको गाउँ, नगर र क्षेत्रीय अधिवेशनलगायत कारण देखाउँदै सिन्धुपाल्चोक, सिराहा, धनुषा, डोल्पा, बझाङ, कञ्चनपुर, महोत्तरी, रसुवा हुम्लालगायत जिल्लाको अधिवेशन हुन बाँकी छ।

सिन्धुपाल्चोकलगायत केही जिल्लामा अधिवेशन कहाँ गर्ने भन्ने ठाउँ विवाद, डोल्पा, बझाङमा भौगोलिक कठिनाइ तथा धनुषा, सिरहा र सप्तरीमा तराई/मधेसमा चलेको आन्दोलनलगायत कारणले समयमै अधिवेशन हुन नसकेको बताउँदै केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले भने-’अब एक, दुर्इ दिनभित्रै समितिको बैठक बसी निर्वाचनको टुङ्गो लगाइनेछ।’

जिल्ला अधिवेशनपछि काङ्ग्रेसमा केन्द्रीय महाधिवेशन हुने व्यवस्था छ। १० जिल्लामा अधिवेशन हुन नसके पनि केन्द्रीय निर्वाचन समितिले केन्द्रीय महाधिवेशन गराएको थियो। काङ्ग्रेस विधानअनुसार सबै तहको निर्वाचन सम्पन्न गर्न निर्वाचन समितिले पार्टीको निकाय तथा शुभेच्छुक संस्थाहरूबाट आवश्यक सहयोग पाउनुपर्ने उल्लेख भए पनि कतिपय जिल्लामा तोकिने जिल्ला निर्वाचन अधिकृत र जिल्ला नेतृत्वबीच कुरा नमिल्दा अधिवेशन सम्पन्न हुन नसकेको हो।

क्षेत्रीय अधिवेशन भने दुर्इ सय ४० निर्वाचन क्षेत्रमध्ये दुर्इ सय ३९ मा सम्पन्न भइसकेको छ। पार्टीकार्यालयका सचिव प्रदीप पराजुलीका अनुसार धनुषा क्षेत्र नं ५ को क्षेत्रीय अधिवेशन गर्न बाँकी छ।

फागुन अन्तिम साता १३औँ महाधिवेशनको परिणाम आएपछि काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकसमेत बसिसकेको छ। उक्त बैठकले सात केन्द्रीय सदस्य मनोनीत गरी भ्रातृ संस्थाका अधिवेशनको विषयमा समेत छलफल अघि बढाए पनि १० जिल्लाको अधिवेशनबारे  छलफल गरेन।

अधिवेशन नहुँदा ती जिल्लामा पार्टीगतिविधि र सङ्गठनलगायतका कामसमेत प्रभावित हुँदै आएको छ। अधिवेशन गर्ने सम्पूर्ण जिम्मेवारी निर्वाचन समितिको भएको बताउँदै   पार्टीमुख्य सचिव ऋषिकेश तिवारीले भने-’निर्वाचन समितिले अधिवेशनको मिति तोकेपछि पार्टीका तर्फबाट आवश्यक सहयोग मात्रै उपलब्ध गराइनेछ।’

- अादर्श समाज सम्वाददाता