कुश्मा कालिका भ्यु टावर बन्ने

पर्वत, २० बैशाख। पर्वत सदरमुकाम आसपासका सबै पर्यटकीय दृश्यावलोकनका लागि पर्वतमा भ्यू टावर बन्ने भएको छ।

लामा र अग्ला झोलुङ्गे पुल, यान्त्रिक पुल, निर्माणाधीन बञ्जी जम्पका साथै अल्पेश्वर र गुप्तेश्वर मन्दिर एकै ठाउँबाट देख्न सकिने गरी कुश्मा कालिका भ्यू टावर निर्माण गर्न लागिएको हो। भ्यू टावर निर्माणका लागि स्थानीयले १३ सदस्यीय तदर्थ समिति गठन गरेका छन्।

टावर निर्माणका लागि रकम सङ्कलन सुरु भइसकेको समितिका सचिव राजु पौडेलले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयको आडमा रहेको कालिका मन्दिरलाई व्यवस्थित गरी पार्कसमेत निर्माण गरिने उनले बताए। ‘दुर्इ दशक अघिसम्म मन्दिर रहेकै स्थानबाट कुश्माको सबै बजार र वरपरका रमणीय स्थानहरू अवलोकन गर्न सकिन्थ्यो तर पछिल्लो समय कुश्मामा बनेका अग्ला घरले प्राकृतिक रुपमै थुम्को परेको अग्लो जमिन छेकिएपछि त्यसको विकल्पका रुपमा भ्यू टावर स्थापना गर्न लागेका हौँ’-समितिका अध्यक्ष लक्ष्मीकान्त आचार्यले बताए।

कालिका मन्दिर र टावर निर्माणका लागि प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले पनि व्यक्तिगत रुपमा सहयोग गरेका छन्। त्यस्तै, कुश्मा नगरपालिका र जिविसले समेत सहयोगको प्रतिवद्धता जनाएका छन्। टावरमा करिव २० लाख खर्च हुने अनुमान गरिएको छ।

- अादर्श समाज सम्वाददाता