संसारका मजदूर एक (न) होऔं’

नेपालमा क्रियाशील दुर्इ दर्जन जति कम्युनिष्ट पार्टीर काङ्ग्रेसनिकटका नेताहरू पनि मजदूर एकतामै जोड दिन्छन्। उनीहरू मजदूर विभाजित हुँदा अधिकार संस्थागत हुन नसकेको पनि स्वीकार गर्छन् तर अधिकांश सवालमा मजदूरहरू एक ठाउँमा आउन सकेका छैनन्।

पोखरा, १९ बैशाख। १२७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आइतबार पोखरामा विविध कार्यक्रम गरी मनाइयो।

पोखरामा नेपाली काङ्ग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, क्रान्तिकारी माओवादी, नेकपा माओवादी र नयाँ शक्ति अभियान निकटका ट्रेड युनियनहरूले छुट्टा-छुट्टै कार्यक्रम गरी यो दिवस मनाएका छन्।

नेपालमा क्रियाशील दुर्इ दर्जन जति कम्युनिष्ट पार्टीर काङ्ग्रेसनिकटका नेताहरू पनि मजदूर एकतामै जोड दिन्छन्। उनीहरू मजदूर विभाजित हुँदा अधिकार संस्थागत हुन नसकेको पनि स्वीकार गर्छन् तर अधिकांश सवालमा मजदूरहरू एक ठाउँमा आउन सकेका छैनन्। चिन्तक कार्ल मार्क्सले कम्युनिष्ट मेनिफेस्टोमा लेखेका थिए-संसारका मजदूर एक होऔं।’ अहिले मार्क्सवाद नै मान्ने मजदूरहरू पनि विभाजित छन्।

दिवसको असरमा प्रभातफेरि, प्रशिक्षण तथा शुभकामना, सरसफाइ जस्ता कार्यक्रम आयोजन गरिएको छ। नेपाल ट्रेड युनियन काङ्ग्रेस कास्कीले अन्तक्रिर्या आयोजना गर्‍यो। कार्यक्रममा नेपाली मजदूरलाई पार्टीले भातृ संस्थाका रुपमा प्रयोग गर्दा मजदूरका समस्या हल नभएको वक्ताहरूले बताए।

नेपाल ट्रेड युनियन काङ्ग्रेस कास्कीका कार्यबाहक अध्यक्ष ज्ञाज शर्माको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख वक्ता विश्वश्वर पराजुलीले नेपाल ट्रेड युनियन काङ्ग्रेस नेपाली काङ्ग्रेसको भातृ संस्था नभई शुभेच्छुक संस्थामात्र भएको बताए। उनले कम्युनिष्टहरू पार्टीको भातृ संस्थामा परिणत हुन पुगेकोमा चिन्ता व्यक्त गर्दै मजदरको हक र हितमा लाग्न अनुरोध गरे। कम्युनिष्टहरूको दोहोरो भूमिकाले सन् १८५० देखिको मजदूरको समस्या हल नभएको उनको दाबी थियो।

कार्यक्रममा नेपाल खानेपानी संस्थान कर्मचारी संघ केन्द्रीय समितिका महासचिव केदार धमला, वित्तीय संस्था कर्मचारी संघका क्षेत्रीय अध्यक्ष रामकुमार श्रेष्ठ, मजदूर नेता कमल सापकोटा, नारायणबहादुर पौडेल, तारा श्रेष्ठ, नाइ संघका विगुललाल ठाकुर, लालिमाया रेग्मीलगायतले मजदूरलाई राष्ट्रले बुझ्न नसक्दा देशको विकास हुन नसकेको धारणा राखेका थिए।

नेपाल ट्रेड युनियन काङ्ग्रेस कास्कीका सहसचिव रुद्रप्रसाद तिम्सिनाको सञ्चालनमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष घनश्याम रेग्मीले गरेका थिए।

यसैगरी, नेकपा एमाले निकट अखिल नेपाल ट्रेड युनियन महासंघ जिफन्ट गण्डकी धौलागिरिले र्‍याली निकालेको थियो। जिफन्ट कार्यालयबाट सुरु भएको र्‍याली सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गा हुँदै मानवअधिकार चोकमा पुगेर सभामा परिणत भएको थियो।

कार्यक्रममा बोल्दै एमालेका पोलिटब्युरो सदस्य गणेश तिमिल्सिनाले अब आर्थिक समृद्धिको बाटोतर्फ लाग्नुपर्ने बताए।

कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ जिफन्टका राष्ट्रिय कमिटी आर्थिक सचिव गुणराम आचार्य र एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले बोलेका थिए।

जिफन्ट गण्डकी धौलागिरिकी अध्यक्ष मिना गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका अध्यक्ष मेखबहादुर न्यौपानेले स्वागत र गण्डकी धौलागिरिका सचिव लिलाबहादुर कार्कीले सञ्चालन गरेका थिए।

यसैगरी, एमाओवादी निकट अखिल नेपाल टे्रड युनियन महासंघ कास्कीले पनि श्रमिक दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रम गरेको छ।

कार्यक्रमा बोल्दै पार्टीका केन्द्रीय सदस्य राजकाजी गुरुङ -करण)ले श्रमजीवी मजदूरको आशा अझै पनि माओवादीमै रहेको बताए। उनले आम उत्पीडित वर्ग, मजदूर, किसानमा अझै पनि माओवादीप्रति आशा रहेको बताए।

माओवादी जनयुद्धले नै मजदूरको मुद्दा स्थापित गरेको बताउँदै करणले शान्ति प्रक्रियामा आएपछि कार्यान्वयन भएको दाबी गरे। पाँच माओवादी घटक एकै ठाउँमा आउने अन्तिम तयारी भएको उनको भनाइ थियो।

कार्यक्रममा एमाओवादी कास्की अध्यक्ष दीपक कोइरालाले ट्रेड युनियन आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्नुपर्ने बताए।

कार्यक्रममा तमु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष बखानसिंह तमु -आभाष) ले एक पटक फेरि अधिकार प्राप्तिको आन्दोलनमा अगाडि बढ्नुको विकल्प नभएको बताए।

प्रशिक्षणमा एमाओवादी नेता लालमोहन तिवारी, अखिल नेपाल टे्रड युनियन महासंघका ४ नम्बर प्रदेश सचिव राजेन्द्र न्यौपाने, अखिल नेपाल होटल, रेस्टुराँ तथा क्यासिनो मजदूर संघका केन्द्रीय उपाध्यक्ष पिआर जोशी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला संयोजक गोपालमणि लामिछाने, वाइसिएल कास्कीका सहसचिव सुवास पौडेल, मजदूर प्रतिनिधि फिटुलाल चौधरी, लक्ष्मी भुजेल निशालगायतले बोलेका थिए।

अखिल नेपाल टे्रड युनियन महासंघ कास्कीका अध्यक्ष नवीन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लीला जिसीले स्वागत र सचिव गुणराज बास्तोलाले सञ्चालन गरेका थिए।

यसैबीच, नयाँ शक्ति निर्माण अभियान निकट नेपाल समाजवादी ट्रेड युनियन महासंघ कास्कीले दिवसको अवसरमा सरसफाइ गरेको छ। महासंघले पोखराको हल्लनचोकदेखि फिस्टेल गेटसम्म सरसफाइ गरेको कास्कीका संयोजक बाबुराम अधिकारीले जानकारी दिए।

सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदूर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो। त्यसयता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको थियो।

विश्वका मजदूरहरूले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन्।

नेपालमा विराटनगरमा २००७ सालमा भएको मजदूर आन्दोलनसँगै यो दिवस मनाइन लागेको हो। विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो।

- अादर्श समाज सम्वाददाता