कोरियाको कोटा घटयो, आकांक्षी बढे

काठमाडौँ, १९ बैशाख। दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली -इपिएस) भाषा परीक्षामार्फत् यस वर्ष नेपाली कामदार लैजाने कोटा घटाए पनि दरखास्त दिनको सङ्ख्या भने उल्लेखनीय रुपमा बढेको छ।

सन् २०१७ का लागि सातौँ भाषा परीक्षाका तय गरिएको अवधि बुधबारदेखि शनिबारसम्मको अवधिमा ६० हजार छ सय ७८ जनाले दरखास्त दिएको इपएसि कोरिया शाखाले जनाएको छ। तीमध्ये उपत्यकाभित्रबाट ३१ हजार चार सय ८८ र उपत्यका बाहिरबाट २९ हजार एक सय ९० जनाले आवेदन दिएका हुन्।

यो वर्ष दरखास्त सङ्कलनका लागि उपत्यकामा पाँच स्थानसहित उपत्यकाबाहिर बुटवल, पोखरा, धरान, जनकपुर र डडेल्धुरा गरी १० स्थानमा दरखास्त सङ्कलन केन्द्र तोकिएको थियो।

यो वर्ष जम्मा तीन हजार एक सय कामदार भाषा परीक्षामार्फत् उत्तीर्ण गराइने इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले जानकारी दिए। गत वर्ष आठ हजार चार सय ९० जना परीक्षार्थी उत्तीर्ण भएकामा यस वर्षभन्दा कम ५१ हजार चार सय ९९ले मात्रै दरखास्त दिएका थिए।

पोखरा दरखास्त केन्द्रबाट दरखास्त दिएकाहरूका लागि पोखरामा नै परीक्षा दिन पाउनेछन् भने अन्य परीक्षार्थीले राजधानीबाट परीक्षा दिनुपर्नेछ। यस वर्ष अनलाइन माध्यमबाट फारम भर्ने व्यवस्था मिलाउने गृहकार्य गरिए पनि तयारी नपुगेपछि स्थगित गरिएको थियो।

नेपाली युवाका लागि आकर्षक गन्तव्यका रूपमा चिनिएको कोरियामा हालसम्म ३५ हजार आठ सय परीक्षा उत्तीर्ण गरी रोजगारीमा संलग्न छन्। यस वर्ष मेसिनले पढ्ने राहदानी -एमआरपी) भएकाले मात्रै आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

कुल दुर्इ सय पूर्णाङ्कको प्रश्नपत्र कोरियाबाटै तयार भएर आउने र उत्तरपुस्तिकासमेत एचआरडी कोरियाले नै जाँच्ने गरेको छ।

कोरियाले विगतमा जस्तै यस पटक पनि उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा कामदार लैजाँदै छ। निर्देशक बास्तोलाले निर्माण क्षेत्रमा समेत नेपाली कामदार लैजान कोरियालाई आग्रह गरिएको जानकारी दिए।

परीक्षार्थीले दरखास्तमा भरेको विवरणका आधारमा सम्बन्धित क्षेत्रमा छनोट हुनेछन्। तर भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरिया जाने सुनिश्चिता नहुने भएकाले दुर्इ वर्षसम्म रोजगारदाताको मागअनुसार मात्र जान पाइने इपिएसले जनाएको छ।

सन् २००७ मा नेपाल र कोरिया सरकारबीच इपिएस प्रणालीअन्तर्गत् कामदार लिने सम्झौता भएको थियो। सम्झौतापछि सन् २००८ बाट नेपालमा भाषा परीक्षा सञ्चालन हुँदै आएको छ। नेपाली कामदारलाई कोरियाले उच्च प्राथमिकता राखेको छ। कोरियाले नेपालसहित १६ मुलुकबाट कामदार लिँदै आएकामा तीमध्ये नेपालीलाई कोरियाका रोजगारदाताले दोस्रो उच्च प्राथमिकतामा राखेको छ।

अहिले दर्खास्त दिएकाहरूले आगामी असार ४ र ५ गते भाषा परीक्षामा सहभागी हुनेछन्।

- अादर्श समाज सम्वाददाता